धुर्व भुषाल
म खेलकुदको भक्त हुँ, खेलकुदकै पुजारी हुँ । मेरो मुटुको हरेक धड्कनसँग गाँसिएको छ खेलकुद । शरीरको हरेक रक्तकोषिकामा बहेको छ खेलकुदकै निम्ति असीम प्यार र खेलकुदकै प्रवाह ।
मेरो अंग–अंगमा दौडने जितका तरंगले जब मेरो मानसपटलमा झंकार प्रत्युत्पन्न गराउँछ तब अबिरले सजिएको निधार र मेडलले चौडिएको छातीको प्रतिबिम्ब आफूमा देख्छु म । निरन्तर अभ्यास र जितको असीम प्यासले मभित्र जन्माएको एक कुशल खेलाडी, खेल खेल्दै गयो र खेलकुदमै जीवन खोतल्दै गयो । मैले अथक परिश्रम र मेहनत गरिरहें, आफ्नो सफलताको भ¥याङ चढ्दै गएँ ।
वाल्मीकि शिक्षा सदनजस्तो ख्याति प्राप्त विद्यालयमा खेल शिक्षकका रुपमा नियुक्त हुनु मेरो सफलताको सिलसिलाकै अविष्मरणीय पाटो सिद्ध भयो । विद्यालयका खेलाडीलाई असल प्रशिक्षण दिई राष्ट्रियरुपमा खेलाउने चाहना र सपना बोकेका यी कलिला आँखा हर्षले यसै रसाएर आएछन् जब लगातार चारपटक जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा विजयी हाम्रो वाल्मीकि राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा छनोट भएको सूचना पाएँ ।
यो सुनौलो मौका त थियो नै ।
तर, बलियो पूर्वतयारीको लागि न त समय नै थियो न त कुनै राष्ट्रियस्तरको खेल खेल्ने अनुभव नै । म र मेरा खेलाडी भाइहरुको काँधमा थियो वाल्मीकि सँगसँगै पूरा चितवनकै अस्तित्व र इज्जत, जुन हामीलाई सदैव उच्च राख्नु थियो । अन्ततः अठार जनाको खेलाडी टोली लिएर हामी भैरहवा प्रस्थान ग¥यौं । समय र अनुभवले दबाब दिइरहे, पसिनाका धारा चुहिरहे । तर, पनि म अहोरात्र खटिइरहें, अभ्यास गराइरहें ।
भैरहवामा सञ्चालन भएको त्यस राष्ट्रिय क्रिकेट प्रतियागिताको प्रथम खेल नै वाल्मीकि र कैलालीबीच हुने भयो । कप्तान सविन क्षेत्रीले टस जितेर व्याटिङ गर्ने निर्णय गरेपछि हाम्रा टिमका दुई सवल खुट्किलाहरु व्याटिङका निम्ति क्रिजमा उभिए । अनि त सुरु भयो, छक्का र चौकाको वर्षा । सन्देश सापकोटाको धमाकादार व्याटिङले ममा जितको टुसा अङ्कुरण ग¥यो । खेलमा राम्रो प्रदर्शन गर्दै मेरा खेलाडी स्कोर बोर्डमा १०२ रन बनाउन सफल भए । प्रत्युत्तरमा व्याटिङ गर्न आएका कैलालीको व्याटिङ अर्डरलाई ध्वस्त पार्दै हामीले ४० रनले प्रथम विजय हासिल ग¥यौं ।
सफलताले चुम्न लागेको आभास भयो मलाई । म हर्षविभोर भएँ । मैदानमा चारैतिर वाल्मीकिकै नाम गुञ्जिरहेको थियो । मेरो हर्षको चिच्याहट कहिले खुसीको आँसु बनेर बरालियो पत्तो पाइन मैले । भोलिपल्ट कान्तिपुर दैनिकमा हाम्रो जितको चर्चा भएको देख्दा मेरो खुसी दोब्बर भयो । राष्ट्रव्यापी ख्याति कमाउने मेरा ढोकाहरु खुलेको भान भयो मलाई । अर्को दिन भैरहवा हुँदै गोरखपुरसम्म खुसी मनाउँदै घुमेका पलहरु सदैव मेरो मनमुटुमा छाइरहे । खेलाडीहरुमा नयाँ जोस र जाँगर पलाउनका साथै जितको इच्छाशक्ति सबल र दरो बनेर आयो । सफलताको प्रारम्भिक चरण पार गर्नुको खुसी त थियो नै तर त्यसै इज्जत, मिहिनेत र प्रतिष्ठालाई अन्तिमसम्म जोगाइराख्नुपर्ने अर्को चुनौती पनि थियो हामीलाई ।
दोस्रो खेल हामीले राष्ट्रिय खेलाडी शक्ति गौचनको टिमसँग खेल्नुपर्ने थियो । तर, हामी राम्रो रनरेटका कारण सेमीफाइनलमा पुगिसकेका थियौं । यसर्थ म्याच हार्दा पनि केही फरक नपर्ने भएकाले आरामले खेल्न भनेर निर्देशन दिएर खेलाडीलाई मैदान उतारेँ । खेलाडीले आफूले सक्दो राम्रो प्रदर्शन त गरे । तर, दुर्भाग्यवश त्यो म्याच हाम्रो हातबाट चिप्लियो । सेमीफाइनलका लागि हाम्रो स्थान सुनिश्चित भएपनि हार भएका कारण खेलाडीमा निराशा थियो । प्रकाश सुवेदी सरको सकारात्मक र दृढ सोच तथा हौसलाले सबैमा ऊर्जा थप्यो । ऊर्जा पक्कै बाँकी थियो र जित प्राप्तिको मनोकांक्षामा कुनै कमी थिएन ।
हाम्रो लागि अबको चुनौती थियो क्रिकटको धावक मानिएको धनगढीसँगको सेमीफाइनल । खेलाडीहरु दुरुस्तै जोश र आँटका साथ मैदानमा उत्रिए । बाहिरबाट उनीहरुलाई हौंस्याउन चिच्याइरहेको मेरो मुहारभित्र कुनै कुनामा लुकेको हारको डरलाई मैले थिचिरहेँ । टस जितेर मेरा विद्यार्थी खेलाडीहरुले राम्रो सुरुआत गरे । जितको आवाज बुलन्द पार्दै मेरा खेलाडीहरु सबै बललाई छक्का र चौकामा परिणत गरेको देख्दा हामी एवम् विद्यालय व्यवस्थापन समितिका व्यक्तिहरुका मुहारमा हर्ष छायो ।
सन्देश र सविनको महत्वपूर्ण साझेदारी र अन्यको प्रयासबाट वाल्मीकिले १०८ रन बनाउन सफल भयो ।
प्रतिउत्तरमा व्याटिङ गर्न आएको धनगढीलाई जम्मा ४० रन दिँदै ४ विकेट चट्काउन सफल भयौँ हामी । एकपछि अर्को विकेटले वाल्मीकिका विद्यार्थीहरुको क्षमता, योग्यता र दक्षता प्रदर्शन गरिहेथ्यो । तर, पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण हामी डगमगाउँदै गयौँ र सो म्याच जित्न असफल भयौँ । यसरी एक जित, दुई हार र थुप्रै अनुभव बटुलेर हामी चितवन फर्कियौँ ।
यो हार मेरै थियो । तर, यो मेरो अन्तिम हार भने होइन । यो हारबाट मैले ठूलो पाठ सिकेको छु । हार नै सफलताको खुट्किलो हो भन्ने कुरा मैले राम्ररी बुझेँ । कम अभ्यास समय भएर पनि वाल्मीकिले खेलेको त्यस्तो राम्रो खेल साँच्चै प्रशंसनीय छ । वाल्मीकिले अगाडि आउने यस्तै मौकाको उपयोग गर्दै विजयी भएर आउनेछ र राष्ट्रभर नै प्रख्यात बन्नेछ, यो मेरो चाहना र अभिलाषा मात्र होइन, मेरा प्रतिबद्धता पनि हो ।