१३ असार । भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ असार २३ गते हुने भएको छ ।
एक साताअघि क्रममा सर्वाेच्च अदालतले च्यातिएको मतपत्रसहित सोसँग सम्बन्धित सबै कागज ७ दिनभित्र उपलब्ध गराउन आदेश दिएको थियो । सोही बमोजित आज सर्वाेच्चमा च्यातिएको मतपत्रसहित सबै कागज बुझाएपछि यस मुद्दाको सुनुवाइ असार २३ गते हुने भएको हो ।
मतपत्र च्यातिएपछि पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले च्यातिएका मतपत्रको पोको मगाएको थियो ।
कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले सात दिनभित्र च्यातिएका मतपत्रहरू जे जस्तो अवस्थामा छन्, त्यसलाई अदालतमा पठाउन भनेको थियो । त्यसैगरी निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णयको सक्कल प्रति र मतपत्र च्यात्नेविरुद्ध सरकारी वकिलले दायर गरेको मुद्दाको मिसिलको सक्कल प्रति पनि पठाउन आदेश दिएको थियो ।
मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । त्यसपछि आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको भन्दै स्थानीय तह निर्वाचन ऐनअनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।