चितवन ,१३ असार।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को च्यातिएको मतपत्र काठमाडौ लगिएको छ । मतगणनाका क्रममा च्यातिएको मतपत्र सर्वोच्च अदालतमा पेश गर्नका लागि काठमाडौं पठाइएको हो । सिल गरिएको मतपत्रलाई राजैतिक दलका प्रमुख र उम्मेदवारको रोहवरमा मतपेटिकामा सिल गरेर जहाजमार्फत काठमाडौं पठाइएको छ ।
मतपत्र लिएर मुख्यनिर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, साहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे, प्रहरी नायव निरीक्षक गोविन्द श्रेष्ठ काठमाडौ गएका हुन् । यसअघि सिलबन्दी गरिएको मतपत्रलाई सुरक्षित तरिकाले मतपेटिकामा राखेर पठाएको चितवनका एसपी दिपक थापाले बताउनुभयो ।
मतपेटिकामा पाँच वटा सिल लगाईएको छ । मतपत्र पठाउँदा जिल्लाका राजनीतिक दलका नेता विमानस्थलसम्म पुगेका थिए । गत जेठ १४ गते राति मतगणना चलिरहँदा मतपत्र च्यातिएको थियो । पुनमतदान कि मतगणना भन्ने विषयको वहस सर्वोच्च अदालतमा रहेको छ । सर्वोच्चले च्यातिएको ९० मतपत्र झिकाउन आदेश दिएको थियो ।