रत्ननगर,१३ असार।
सीमान्तकृत सुचीकृत समुदायका बालबालिकाको उच्च शिक्षाका लागि रत्ननगर नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने बताएको छ । आर्थिक अवस्थाका कारण यी समुदायका बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै डिग्री तहसम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्न लागेको रत्ननगर नगरपालिकाका नगर प्रमुख (मेयर) नारायण वनले जानकारी दिए ।
सीमान्तकृत समुदायमा चेपाङ, मुसहर, बोटे जाति पर्दछन् । रत्ननगर–११, मंगलपुरस्थित गामवेशीको चेपाङ संरक्षण केन्द्रमा स्थापना गरिएको ई–लाईब्रेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख वनले सीमान्तकृत समुदायको बालबालिकालाई डिग्रीसम्म निःशुल्क पठनपाठनका लागि वातावरण सिर्जना गर्ने बताए । “सीमान्तकृत समुदाय सबै क्षेत्रबाट पछाडि परेका छन्”, नगर प्रमुख वनले भने, “उनीहरुलाई शिक्षाको पहुँचमा ल्याउन डिग्रीसम्म निःशुल्क पढाउने वातावरण मिलाउँछु ।” सरकारले स्थानीय तहलाई माध्यमिक तहसम्मको विद्यालय सञ्चालनका लागि स्वीकृत गर्ने अधिकार दिएको छ भने शिक्षाका लागि अन्य अधिकार पनि दिएको छ ।
यूएन अफिसर्स क्लबको आर्थिक सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघले केन्द्र परिसरमा भवनसहित ई–लाईब्रेरी स्थापना गरेको हो । सो अवसरमा नगर प्रमुख वनले चेपाङ संरक्षण केन्द्रलाई नगरपालिकाको साथ रहने बताए । उनले चेपाङ बालबालिकाको शिक्षाको लागि सञ्चालनमा रहेको केन्द्रलाई नगरपालिकाले दीर्घकालीनरुपमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । पञ्चकन्या सामुदायिक वनले पञ्चतेज ज्योति निमाविलाई प्रदान गरेको जग्गामा केन्द्र सञ्चालित छ । मेयर वनले जिल्ला प्रशासन कार्यालन, जिल्ला वन कार्यालय र सामुदायिक वनसँग परामर्श गरेर केन्द्र रहेको जग्गालाई केन्द्रले नै अनन्तकालसम्म प्रयोग गर्न सक्ने बनाउन पहल गर्ने बताए । उपप्रमुख विमला दुवाडीले चेपाङ संरक्षण केन्द्र रत्ननगरकै गहना रहेको भन्दै यसलाई नगरपालिकाको अंगको रुपमा विकास गर्ने बताइन् ।
कार्यक्रममा केन्द्रले मेयर वन, उपमेयर विमला दुवाडी, ई–लाईबेरी स्थापनाको लागि पहल गर्ने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुराल, संघका कार्यसमिति सदस्य रघुनाथ भट्टलाई सम्मान गरेको थियो । पाँच लाखको लगतमा निर्माण गरिएको सो भवनमा तीन वटा कम्प्युटर अमेरिकामा रहेका मनोज भट्टराई र रुचना सेढाईंले सहयोग गरेका छन् । ई–लाईब्रेरीमा ईमेल इन्टरनेटसहित कम्प्युटरमै किताब पढ्ने व्यवस्था मिलाइएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताए ।
यसैबीच रत्ननगर नगरपालिका नगर कार्यकालिकाको सोमबार बसेको वैठकले सीमान्कृत समुदायका विद्यार्थीलाई डिग्री तहसम्मको शिक्षा निःशुल्क गर्ने र ७५ वर्ष उमेर नाघेका वृद्धवृद्धालाई रत्ननगर बकुलहर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ ।
मुसहर र चेपाङलाई डिग्रीसम्म निःशुल्क पढाइ
मुसहर र चेपाङलाई डिग्रीसम्म निःशुल्क पढाइ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस