भरतपुर,१३ असार।
चितवन राष्ट्रिय निकुञ्जभित्रको तार(केवल) मा समस्या भएपछि माडी नगरपालिका अध्याँरो बनेको छ । चनौलीबाट माडी विद्युत् लैजान निकुञ्ज खण्डको करिब ८ किलोमिटर दुरीमा भूमिगत प्रणालीअन्तर्गत केबल बिछ्याइएको थियो । असार ५ गतेदेखि निकुञ्जभित्रको केबलमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ ।
चनौली–जगतपुर–माडी ३३ केभी प्रसारण लाइन ग्रामीण विद्युत् परियोजनाका प्रमुख जगदिश जोशीले केबल समस्या पहिचान गर्ने उपकरण नहुँदा विद्युत् सेवा सुचारु हुन नसकेको बताए । “भारतबाट प्राविधिक र उपकरण मगाएका छौं”, उनले भने, “फल्ट लोकेटर मेसिन आएपछि बल्ल सुचारु गर्न सकिन्छ ।” निकुञ्ज खण्डमा केवल बिछ्याउने जिम्मा पाएको एनजे लिंकले मर्मतका लागि बुधबारमात्रै उपकरण नेपाल पठाउन लागेको छ । समस्या पहिचान भएमा आइतबारअघि विद्युत् सेवा सुचारु हुने न्यून सम्भावना छ । आयोजना नेपाल सरकारलाई हस्तान्तरण भइनसकेकाले मर्मत सम्भारको काम ठेकेदार पक्षले नै गर्नुपर्ने प्रावधानले गर्दा ढिलाइ भएको हो ।
२०७२ फागुनमा निकुञ्जभित्रको केवलमा खराबी देखिएपछि ‘फल्ट लोकेटर’ मेसिन ल्याएर परीक्षण गरिएको थियो । निकुञ्ज खण्डमा रहेका ७ वटा जडान (ज्वाइन्ट) भएका ठाउँमा पटक–पटक समस्या आउने गरेको छ । २०७१ साल माघ, २०७३ असोजमा पनि जडान भएका ठाउँमा समस्या देखिएको थियो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका फिल्ड सुपरभाइजर तथा माडी सबस्टेसन इञ्चार्ज आनन्द कुँवरले केबलमा समस्या देखिएपछि तत्काल सेवा सुचारु गर्नुपर्ने भन्दै स्थानीयले दबाब दिएको बताए । “निकुञ्ज खण्डको खराबीले गर्दा सबस्टेसनसम्म विद्युत् आउन सकेको छैन”, उनले भने, “सरकारी कार्यालय, अस्पताल, बैंक, संस्थासहित सर्वसाधारण मर्कामा परेका छन् ।” असार ८ गते एक ठाउँको केबल जडानमा देखिएको समस्या समाधन भएपनि विद्युत् सेवा सुचारु हुन सकेको छैन । थ्री फेजमध्ये ‘आर’ फेजमा समस्या देखिएको छ ।
विद्युत् सेवाको आशमा दुई दशक कुरेर झण्डै ६ महिना विद्युत् उपयोग गरेका सर्वसाधारण फेरि अन्यौलमा परेका छन् । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले निकुञ्ज खण्डमा बिछ्याइएको केबलमा आइरहने समस्या दीर्घकालीनरुपमा समाधान गर्नुपर्नेमा जोड दिन्छन् । माडीमा २०७३ असोज ७ गते सुरुमा ७ वटा सरकारी कार्यालय तथा संस्थाले विद्युत् मिटर लिएका थिए । कात्तिक २२ गतेबाट सर्वसाधारणले विद्युत् सेवा लिएका थिए । हालसम्म माडीमा विद्युत्का करिब ४ हजार उपभोक्ता छन् । ऊर्जामन्त्रीले गत मंसिर ४ गते माडी विद्युत् सबस्टेशनको उद्घाटन गरेपछि नियमित विद्युत् सेवा सुचारु भएको थियो । माडीमा पहिलो पटक विद्युतीकरणको काम २०५५÷२०५६ बाट सुरु भएको थियो । त्यो योजना अलपत्र बनेपछि ग्रामीण विद्युत् परियोजनाअन्तर्गत २०६६ सालदेखि काम सुरु भएको थियो । करिब २५ करोड लागतमा थालिएको सो परियोजनाको काम सकिएपनि नेपाल सरकारलाई हस्तान्तरण हुन सकेको छैन ।
फेरि अँध्यारो बन्यो माडी नगरपालिका
फेरि अँध्यारो बन्यो माडी नगरपालिका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस