विप्लव काफ्ले,कायाकैरन
भरतपुर,१३ असार।
भरतपुर महानगरपालिका–२५, दिव्यनगरमा खुनडाँका घटनामा संलग्न व्यक्तिलाई एक महिनापछि प्रहरीले पक्राउ गरेको छ । जेठ ४ गते राति मध्यरातमा घरभित्र पसी गोली चलाई लुटपाट गरेको घटनाका अभियुक्तलाई पक्राउ गरिएको हो ।
गोली लागेर गम्भीर घाइते बनेका गंगासागर महतोको उपचारका क्रममा जेठ ९ गते नै मृत्यु भएको थियो । उनकी आमा, बहिनी र श्रीमतीलाई घाइते बनेका थिए । नवलपरासीबाट घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा नवलपरासी मध्यविन्दु नगरपालिका–१०, अरुणखोलाका २१ वर्षीय लक्ष्मण परियार र सोही स्थानका २० वर्षीय नारायण विक पक्राउ परेका छन् । “विदेशबाट आएको थाहा पाएरै लुटपाट गरेको प्रारम्भिक अध्ययनले देखाएको छ”, उनले भने, “घटनाका मुख्य अभियुक्त अझै फरार छन् ।” मुख्य योजनाकार मानिएका पर्वत घर भई हाल दिव्यनगरस्थित ससुराली घर बस्दै आएका अभियुक्त भने फरार छन् । उनी बस्ने कोठामा छापा मारी प्रहरीले पेस्तोल, ६ थान गोली, सुन तथा अन्य हातहतियार बरामद गरेको छ ।
अपराध अनुसन्धान विभाग, क्षेत्रीय प्रहरी कार्यालय हटौंडाको क्षेत्रीय अनुसन्धान टोली, र जिल्ला प्रहरी कार्यालय चितवनको समूहले अध्ययन गरी घटनाबारे गहिरो अध्ययन गरेको थियो । प्रहरीले अभियुक्तबाट ८३ हजार १ सय ४० रुपैयाँ नगदसहित लुटपाट गरिएका गरगहना, घटनामा प्रयोग भएका हातहतियारसमेत बरामद गरेको छ । सुनको सिक्री १ थान, सुनको मंगलसुत्र, औंठी, पाउजु २ जोर, पिन फुली, घडी ३ थान बरामद गरेको छ । “लुटेराले चोरेका गहना बाँडेर स्वरुप परिवर्तन गरेको पाइएको छ”, उनले भने, “मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया चलाइने छ ।”
अभियुक्तले लुटेर स्वरुप परिवर्तन गरेका पञ्चरत्न बाला २ थान, सिक्री १ थान, टप १ थान, मुन्द्रा २ थान, सुनको ढिक्का एक थान बरामद गरिएको छ । घटनामा प्रयोग गरिएका ह्यामर, रड, खुकुरी, चक्कु, पेचकससमेत प्रहरीले बरामद गरेको छ । लामो समयपछि गंगाबहादुर महतो कतारबाट वैशाख १८ गते घर आएका थिए । लुटेराले उनी आएको थाहा पाएपछि लुटपाटको योजना बुनेका थिए । राति नकाब लगाएर लुटेराको समूह घरको छतबाट घरभित्र पसेको थियो । घरमा सुतिरहेको अवस्थामा कोठामा रहेका परिवारका सदस्यलाई कुटपिट गर्दै गरहगना र नगद चोरेका थिए । पीडित परिवारले २ लाख नगद र नौ तोला सुन लुटपाट भएको बताएका थिए । चितवनका स्थानीय तहको मतगणना चलिरहँदा घटना भएको थियो ।