भरतपुर,२८ बैशाख ।
चितवनमा कांग्रेस–मोओवादीको संयुक्त चुनावी आमसभा हुने भएको छ । आजै राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले दलहरुले गर्ने चुनावी प्रचारसम्बन्धी यो अन्तिम सभा हो ।
स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि कांग्रेस–माओवादी भरतपुर महानगर संयुक्त प्रसारप्रचार कमिटीको आयोजनामा आज(बिहीबार) बिहान ११ हुने आमसभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउँदैछन् । तालमेलबारे उनीहरुले स्थानीय जनतालाई स्पष्ट पार्नेछन् ।
माओवादीका बरिष्ठ नेता रामबहादुर थापा (बादल) र कांग्रेस वरिष्ठ नेता बालकृष्ण खाँडले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुर महानगरपालिकाको मेयर तथा उपमेयर पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपछि दुवै पार्टीका शीर्ष नेतृत्व एकै मञ्चबाट सम्बोधन गर्न आउन लागेको माओवादी केन्द्र चितवनका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।
भरतपुर केन्द्रीय बस टर्मिनलको खुल्ला चौरमा बृहत आमसभा गर्ने तयारी पूरा भएको संयुक्त चुनाव प्रचार समितिले जनाएको छ । प्रचण्ड र देउवा बिहान ११ बजे आइपुग्ने तालिका छ भने सभाअघि महानगरका २९ वडाबाट बृहत ¥याली भरतपुरमा केन्द्रीय बसपार्क, हाकिमचोक, चौबिसकोठीचोक, लायन्सचोक, नारायणगढ बजार, शहीदचोक, पुलचोक हुँदै पोखरा बसपार्क, आँपटारी हुँदै बाईपास रोड भई पुनः केन्द्रीय बसपार्कमा आई सभामा परिणत हुनेछ । नेताहरुले संयुक्तरुपमा घरदैलो कार्यक्रमसमेत गर्ने भएका छन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि चुनावी सभाका लागि आजै भरतपुर आउँदैछन् । एमाले भरतपुर महानगर कमिटीको आयोजनामा हुने आमसभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न अध्यक्ष ओली भरतपुर आउन लागेका हुन् । अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेल पनि आउने एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।
आमसभा आज दिउँसो १२ बजे नारायणगढको पोखरा बसपार्कमा हुनेछ । आमसभाअघि बिहान ११ बजे भरतपुरको चौबिसकोठीबाट नारायणगढको लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पोखरा बसपार्कमा ¥याली निकाल्ने तयारी गरिएको छ ।