११ असार । अवरुद्ध नारायणगढ–मुग्लिन सडक अहिले बिहान ८ बजे देखि दुबै तर्फिरुपमा सुचारु भएको छ । पहिरोका कारण गएराति ९ बजेदेखि बन्द भएको यातायात पहिरो हटाएर ११ घन्टापछि सञ्चालनमा आएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले दुईतर्फी नै बाटो खुलाइएकाले गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् । उहाँले यातायात सहज हुन अझै केही घन्टा लाग्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर रातिदेखि सडक अवरुद्ध भएको थियो । दुईतर्फबाट डोजरले पहिरो पन्छाएको थियो ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउने काम सुरु भएको थियो । चार घन्टाको लगातारको प्रयासपछि बाटो खुलाइएको हो ।