रत्ननगर,११ असार ।
फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरुले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । अपाङ्गता भएपनि शैक्षिकस्तरमा राम्रै प्रगति गरेका व्यक्तिहरु फाल्तु बस्नुपरेको र भत्तामा समेत विभेद गरिएको उनीहरुले बताएका छन् ।
खैरहनीमा शनिबार आयोजित ह्वीलचियर वितरण कार्यक्रममा नगर अपाङ्ग इकाई समन्वय समिति खैरहनीका अध्यक्ष गोविन्द थापाले राज्यबाट आफूहरु बेवास्तामा पर्ने गरेको बताए । “समाजले हामीलाई हेर्ने दृष्टिकोण फरक छ”, अध्यक्ष थापाले भने , “राज्यले पनि उचित सम्मान र वास्ता गर्न सकेको छैन ।” सरकारले भत्ताका लागि उपलब्ध गराउने रातो र नीलो कार्ड एकै किसिमको भएपनि फरक–फरक भत्ता दिने गरेको उनको गुनासो छ । पूर्णरुपमा अपाङ्ग अर्थात अर्काले स्याहारसुसार गर्नुपर्नेलाई रातो कार्ड तथा वैशाखीको सहारामा हिड्नेलाई नीलो कार्डको व्यवस्था छ । तर, वैशाखीको सहारामा हिड्नेलाई पनि पूर्ण अपाङ्ग जस्तै मानिन्छ ।
सरकारले रातो कार्ड पाएकालाई रु. २ हजार र नीलो कार्ड पाउनेलाई रु. ६ सय रुपैयाँ भत्ता प्रतिमहिना प्रदान गर्दै आएको छ । “रातो र नीलो कार्ड पाउने एउटै वर्गका हुन्”, नगर समन्वय समितिका अध्यक्ष थापाले भने, “यसमा पनि एकरुपता आवश्यक छ, नीलो कार्ड पाउनेलाई कम्तीमा रु. १ हजार ५ सय प्रदान गर्नुपर्छ ।” यस्तै अपाङ्गता भएकालाई पनि योग्यताको आधारमा कामको अवसर दिनुपर्ने उनीहरुको भनाइ छ ।
खैरहनी नगरपालिकामा १ हजार ११ जना अपाङ्गता भएर पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्ति छन् । उनीहरु बेरोजगारै बस्नुपर्ने बाध्यता छ । उनीहरुका लागि स्थानीयस्तरमा रहेका संघसंस्था तगा उद्योगमा खुल्ला प्रतियोगितामार्फत काम गर्ने अवसर दिनुपर्ने अध्यक्ष थापा बताउँछन् । “अपाङ्ग भन्नेबित्तिकै यस्ता अवसरबाट वञ्चित गरिन्छ”, उनले भने, “योग्यताको आधारमा प्रतिस्पर्धामा हामी जस्तालाई पनि अवसर दिनुपर्छ ।”
यसैबीच खैरहनी नगरपालिकाका ४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ। शनिबार खैरहनीमा युवा स्वर्ण तारा क्लबले ह्वीलचियर वितरण गरेको हो । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक निलबहादुर विकले उनीहरुलाई ह्वीलचियर वितरण गरे । खैरहनी नगरपालिकाको सहयोगमा खैरहनी–१३ का रेवतीप्रसाद कँडेल, वडा नम्बर ८ की सितला परियार, वडा नम्बर ३ की मनिका प्रधान र वडा नम्बर ६ की वुनुमाया पुनलाई ह्वीलचियर वितरण गरिएको कार्यक्रमका संयोजक रक्की खरेलले जानकारी दिए ।
लक्षित वर्गको कार्यक्रमअन्तर्गत फरक क्षमता भएका उनीहरुलाई ह्वीलचियर वितरण गरिएको हो । क्लबका अध्यक्ष मनोज खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा खैरहनी जेसीजका अध्यक्ष मेघराज निरौला, लायन्स क्लब अफ चितवन इष्टका अध्यक्ष केएन सिलवाल, नगर अपाङ्ग इकाई समन्वय समिति खैरहनीका अध्यक्ष गोविन्द थापा, क्लबका उपाध्यक्ष बालकृष्ण उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।