भरतपुर,११ असार।
नारायणगढ–मुग्लिङ सडकखण्ड गाडी चलाउन जति असुरक्षित र डरलाग्दो छ, यही सडकको तल बग्ने त्रिशूली नदीपनि उत्तिकै खतरनाक छ । विविध कारणले सडकबाट तल झर्ने गाडी र त्यसमा सवार मान्छे यहीं कतै बिलाउँछन् । तिनीहरु वर्षौंसम्म भेटिदैनन् । कयौं समयदेखि यो नदीमा मान्छे र सवारीसाधन हराइरहेका छन् ।
नारायणगढ–मुग्लिङसँगै त्रिशूली नदीको चितवन खण्डमा एक वर्षमा मात्रै १९ जना बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिङ सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटरको सडक त्रिशूली नदीको किनारैकिनार पर्छ । यो सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूली नदीमा खस्ने र चालक तथा यात्रुको मृत्यु तथा बेपत्ता हुने गरेका छन् ।
सडकको जारी मर्मतसम्भारको कामले गर्दा यो सडकखण्ड निकै जोखिमयुक्त बनेको छ । हरेक दिनजसो यहाँ सानाठूला दुर्घटना भइरहेका हुन्छन् । अझै अहिले त पानी पर्ने मौसम भएकोले निर्माणाधीन सडकमा जहिलेपनि उत्तिकै जोखिम छ । कुनबेला कहाँबाट पहिरो झर्ने हो थाहा हुँदैन ।
ट्राफिक प्रहरीले दिएको तथ्यांककै आधारमा पनि यहाँको अवस्था डरलाग्दो देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सो खण्डमा २७ वटा ठूला दुर्घटना भएका छन् । जसमा ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता भएका छन् । ९१ जना घाइते भएका छन् । विगतका वर्षमा यो तथ्यांक निकै कम देखिन्छ । गत आर्थिक वर्षमा सोही क्षेत्रमा तीनवटा मात्र दुर्घटना भएका थिए । जसमा दुई जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७१÷७२ मा सात वटा दुर्घटनामा सात जनाको मृत्यु, ९ जना घाइते र तीनजना बेपत्ता भएका थिए ।
चालु आर्थिक वर्षको साउन ४ गतेबाट त्रिशूली नदीमा गाडी खसेर सुरु भएको दुर्घटना शुक्रबार सोही सडक क्षेत्रमा पहिरो खसेर नेपाल प्रहरीको भ्यानसहित दुई बेपत्ता र दुई जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षकै भदौ १० गते रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रि बस कालिखोला नजिकै त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता र १६ जना घाइते भएका थिए ।
यस्तै असोज ९ गते पूर्व गृहमन्त्री माधव घिमिरेसमेत सवार जिप त्रिशूलीमा खस्दा घिमिरेसहित दुई जना अझै बेपत्ता छन् भने चारजनाको मृत्यु र एकजना घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त बाटो फराकिलो बनाउने क्रममा पहाड थर्किएको र गतवर्षको भूकम्पले हल्लाएकाले समग्र सडक क्षेत्रको भूगर्व नै हल्लिएका कारण पहिरो खस्दा दुर्घटना बढेको बताउँछन् । सडकको ईञ्जिनियरिङ अवस्था कमजोर, चालकलाई सचेतना दिन नसकिएको, चालकको लापरबाही बढेकोजस्ता कारण दुर्घटना बढेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा यस आर्थिक वर्षमा यी दुई सडक खण्डमा बाटोको अवस्था र चालकको लापरबाहीका कारण निकै धेरै दुर्घटना भएको बताउँछन् ।