धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१० असार ।
चितवनमा खेर जाने फोहरबाट वार्षिक १६ करोडको इन्धन उत्पादन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । फोहरजन्य पदार्थमध्ये सबैभन्दा धेरै प्रयोगमा आउने प्लाष्टिकबाट इन्धन उत्पादन गर्न सकिने उनीहरु बताउँछन् ।
जिल्लाको जनसंख्या साढे ५ लाखभन्दा बढी छ । यो जनसंख्याको हिसबमा चितवनमा प्रत्येक दिन करिब २२ टन फोहर उत्पादन हुन्छ । २२ टनमध्ये प्रसोधन गर्न मिल्नेबाहेक १० टन प्लाष्टिक हुने र त्यसबाट वार्षिक १६ करोडको इन्धन उत्पादन गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का वैज्ञानिक डा. रवीन्द्रप्रसाद ढकालले बताए । “हामीले अझै फोहर चिन्न सकेका छैनौं”, ढकालले भने, “खेर गइरहेको प्लाष्टिकबाट इन्धन उत्पादन हुने अनुसन्धानले देखाइसकेको छ ।” जिल्लामा दैनिक उत्पादन हुने फोहरबाट १५ हजार ४ सय लिटर इन्धन उत्पादन हुन्छ । यो हिसाबले जिल्लामा ५६ लाख ३६ हजार लिटर वार्षिक उत्पादन गर्न सकिने वैज्ञानिक ढकालले बताए । यसबाट वार्षिक १६ करोड ८९ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ । यसमा उत्पादन लागत कटाएर १० करोड रुपैयाँ खुद नाफा कमाउन सकिने उनले बताए । १० टन प्लाष्टिकबाट इन्धन निकाल्न करिब ८० लाख मूल्यमा मेसिनलगायत सबै उपकरण खरिद गर्न सकिने ढकालले बताए । “प्लाष्टिकलाई प्रसोधन गरेर पुनः प्रयोगमा ल्याउन अभ्यास त गरिरहेका छौं । तर, प्लाष्टिकबाट इन्धन नै उत्पादन गर्न सकिन्छ भन्ने विरलैलाई थाहा होला ।”
शुक्रबार रत्ननगरमा वैज्ञानिकहरुले इन्धन उत्पादन गरेरै देखाइदिए । यसले फोहर व्यवस्थापन हुने र इन्धनकै लागि भारत तथा तेस्रो मुलुकको भर पर्नुपर्ने अवस्था हटाउन सहयोग पुग्छ । फोहर व्यवस्थापन नगरपालिकाहरुको लागि टाउको दुखाइको विषय बनिरहेको छ । सबैजसो प्लाष्टिकबाट इन्धन निकाल्न सकिन्छ । प्लाष्टिकबाट सबैभन्दा धेरै डिजल ६० प्रतिशत, पेट्रोल र मटितेल २०–२० प्रतिशत उत्पादन हुन्छ । यसरी उत्पादन भएको इन्धन प्रयोगशाला परीक्षणमा राम्रै देखिएपनि बिक्री वितरणका लागि सरकारले नीति बनाएको छैन ।
सरकारले काठमाडौंलाई प्लाष्टिकमुक्त बनाउने घोषणा गरेपछि नाष्टका वैज्ञानिकले यसको अनुसन्धान गरेका हुन् । तर, इन्धन उत्पादन हुने मेसिन भने जापानबाट ल्याइएको हो । नगरपालिकामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले फोहर व्यवस्थापन नगरपालिकाको टाउको दुखाइको विषय बनिरहेका बेला वैज्ञानिकले गरेको यस्तो अनुसन्धानले फोहर व्यवस्थापनका साथै इन्धन उत्पादनबाट आत्मनिर्भर बन्न सकिने बताए । “फोहर व्यवस्थापनमा टाउको दुखाइको विषय थियो”, नगर प्रमुख वनले भने, “प्लाष्टिकलाई पुनः प्रयोग गर्दै आएका हामीलाई इन्धन नै उत्पादन हुने भएपछि दोहोरो फाइदा हुन्छ । हामी यसलाई ग्रहण गर्छौं ।”
आगामी बोर्ड बैठकमा यो विषय पारित गराएर मेसिन खरिद गरी प्लाष्टिक व्यवस्थापनको काम गरिने नगर प्रमुख वनले बताए । “फोहर ढुवानीमा वार्षिक करोडौं खर्च गरिरहेका छौं”, नगर प्रमुख वनले भने, “मेसिन खरिद गरी प्लाष्टिकबाट इन्धन उत्पादन गर्ने प्रक्रियालाई अघि बढाउँछौं ।” नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेलले प्लाष्टिकको व्यवस्थापन हुने, वातावरण पनि सफा हुने र आम्दानीको स्रोत पनि हुने बताए । अन्तरक्रिया कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडी, कार्यकारी अधिकृत कृष्ण सुवेदी, खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता थपलिया, राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा, रत्ननगरका वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।