भरतपुर,१० असार ।
एसओएस बालग्रामका संस्थापक स्वर्गीय हर्मन माइनरको सम्झना गर्दै ३१ औं अन्तर्राष्ट्रिय एसओएस दिवस विश्वभरि विभिन्न कार्यक्रमका साथ शुक्रबरा मनाइएको छ ।
सोही अवसरमा एसओएस हर्मन माइनर विद्यालय भरतपुरमा पनि शुक्रबार एसओएस दिवस विशेष कार्यक्रम मनाइयो । साताव्यापी कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम, आँखा शिविर, जिल्लास्तरीय चित्रकला प्रतियोगिता, जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितालगायत सम्पन्न भएका छन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वय वडा नम्बर ७ का वडाध्यक्ष यमलाल कँडेल र वडा नम्बर ८ का वडाध्यक्ष दामोदर न्यौपानेलाई सम्मान पनि गरिएको छ । सोही अवसरमा स्थानीय समाजसेवी एवम् विद्यालय व्यस्थापन समितका वरिष्ठ सदस्य केशव देवकोटालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । हर्मन माइनर विद्यालयमा विभिन्न कक्षामा प्रथम, द्वितीय, तृतीय हुन सफल छात्रछात्रा, जिल्लास्तरीय हाजिरीजवाफ एवम् चित्रकला प्रतियोगितामा विजयी एवम् सुन्दर नृत्य प्रस्तुत गर्ने छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।
एसओएस बालग्राम अन्तर्राष्ट्रका संस्थापक स्वर्गीय हर्मन माइनर सन् १९११ जुन २३ तारिखमा जन्मिएका थिए भने सन् १९८६ मा दिवंगत भएका थिए । एसओएसले उनी दिवंगत भएपछि हरेक वर्ष जुन २३ तारिखमा एसओएस दिवस मनाउने गरेको छ ।