एमालेका तर्फबाट माडी नगरपालिकाको मेयर पदमा नारदमणि पौडेलले उम्मेद्वारी दिएका छन् । उनी एमाले माडी नगर कमिटीका अध्यक्ष हुन् । हक्की स्वभाव र स्पष्ट वक्ताका रुपमा परिचित पौडेल २०३५ सालदेखि निरन्तर राजनीतिमा छन् । पञ्चायती व्यवस्थाको विरोध गर्दा उनी पटक–पटक जेल परेका छन् । अनेरास्ववियु चितवनको जिल्ला अध्यक्ष भएका पौडेल मध्यमाञ्चल उपाध्यक्ष भएर पनि काम गरे । उनी पटक–पटक एमाले चितवनको जिल्ला सदस्य पजि बने । स्नातक तह उत्तीर्ण गरेका पौडेल निकुञ्ज ऐन परिमार्जनका स्थानीय अभियान्ता हुन् । माडी नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका पौडेलसँग कायाकैरन दैनिकका विप्लव काफ्लेले गरेको संक्षिप्त कुराकानी ः
माडी नगरपालिकाको मेयर पदमा उम्मेद्वारी किन ?
म विगतको स्थानीय निकायको निर्वाचनबाट तत्कालीन अयोध्यापुरी गाविसको अध्यक्ष बनेको थिएँ । निकुञ्जबाट निस्कने वन्यजन्तुले पु¥याउने क्षतिवापतको रकम ज्यादै न्यून दिइन्थ्यो । निकुञ्ज आसपासका बस्तीमा जंगली जनावरको आतंक थियो । हामीले उचित तरबार माग गथ्र्यौं । निकुञ्जभित्रको सडक फराकिलो पार्नुपर्ने आवाज अझै सुनिएको छैन । बाँदरझुलादेखि वनकट्टासम्म सबै ठाउँका स्थानीयका समस्या हल कसरी गर्न सकिन्छ भनेर हालसम्म लड्दै आएको छु । सबै वडाको समानुपातिक विकास गर्न मैले मेयर पदमा उम्मेद्वारी दिएको हुँ ।
माडी अब कस्तो बनाउनुपर्छ भन्ने सोच छ ?
माडी पर्यटनको ‘हब’ बन्न सक्ने प्रशस्तै सम्भावना छन् । वैकुण्ठधाम, गोद्धक, पाँचपाण्डवलगायत धार्मिक तथा सांस्कृतिक आस्था बोकेका ठाउँहरुको प्रचारप्रसार गर्ने कामलाई उच्च प्राथमिकतामा पारिने छ । यी क्षेत्रमा पूर्वाधार विकास गरिने छ । देशकै पर्यटकीय गन्तव्य स्थल माडी भनेर पहिचान स्थापित गरिने छ । वडा तहमा प्रशस्तै होमस्टेहरु सञ्चालनमा ल्याइने छ । राष्ट्रिय निकुञ्जमा जिप सफारी गर्ने गरी समन्वयकारी भूमिका निर्वाह गरिने छ । निकुञ्ज ऐन परिवर्तन गरी माडीकै हितमा निकुञ्जलाई उपयोग गर्ने र संरक्षण गर्ने नीति बनाइने छ । माडीमा ठूला उद्योग खुल्ने सम्भावना छैन । पर्यटन उद्योग, कृषि उद्योग सञ्चालन गरिने छ । माडीलाई हरियाली नगरपालिका बनाइने छ । सबै वडा तहमा स्तरीय सडक सञ्जाल पु¥याइने छ ।
सुकुम्बासी समस्या हल गर्ने योजना के छन् ?
तत्कालीन अवस्थामा अयोध्यापुरीको गाविस अध्यक्ष हुँदा सुकुम्बासी आयोगमार्फत मेरै अगुवाइमा करिब ५ सय घरपरिवारलाई लालपुर्जा वितरण गरेको अनुभव छ । बाँदरझुला बस्तीलाई हाल एकदमै कम जग्गा दिएर अन्यत्र सार्ने अवैज्ञानिक काम भूमिसुधार मन्त्रालयले गर्दै छ । यो राम्रो काम होइन । माडीमा थुप्रै सार्वजनिक जग्गा छन् । त्यही आवश्यकताअनुसार अध्ययन गरेर पुनर्वास गराउन सकिन्छ । उनीहरुका लागि गाँसबासको व्यवस्था, सीपमूलक तालिम दिएर स्वरोजगार बन्न सक्ने गरी कार्यक्रम ल्याउन पहल गर्नेछु । उपभोग पुर्जा होइन, हामी लालपुर्जा नै दिने गरी सुकुम्बासी समस्या हल गर्न चाहन्छौं । बाँदरझुला, कुसुमखोला, प्याउली, कान्छी बगई, चौकीडाँडा, बाह्रघरे, मजुवालगायत माडीका विभिन्न ठाउँका सुकुम्बासीलाई जगा उपलब्ध गराउने योजना कार्यान्वयनमा ल्याइने छ ।
राष्ट्रिय निकुञ्जलाई माडीको हितमा कसरी प्रयोग गर्न सकिएला ?
निकुञ्ज हाम्रै माडीको पनि निधि हो । निकुञ्जबाट जंगली जनावर बस्ती प्रवेशलाई पूर्णतया रोक्ने गरी पूर्वाधार विकास गरिने छ । रिउ खोलाबाट वर्सेनि हुने कटानलाई रोक्न बगईदेखि वनकट्टासम्म आधुनिक ड्याम निर्माण गर्ने योजना छ । सो ड्याममाथि विद्युतीय तारबार लगाइने छ । चितवन राष्ट्रिय निकुञ्ज २४ सै घण्टा खुला राख्नका लागि विनाशुल्क प्रवेश गर्ने वातावरण बनाउन ऐन तथा नीति परिवर्तन गराउन लागिपर्नेछु । निकुञ्जको नियमावलीलाई निकुञ्ज आसपास जनताको लागि लाभदायी हुने गरी संसोधन गरिनेछ । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भएमा मृतकको परिवारलाई न्यूनतम १५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न दबाब दिइने छ ।
विगतमा गाविस अध्यक्ष भएपनि उल्लेख्य केही गर्न सक्नुभएन भन्छन् ।
माडीको समग्र विकासका लागि समर्पित भएर लागेको व्यक्ति हुँ । ऊबेला मैले गरेका धेरै राम्रा काम छन्, केही गरेन भनेर लगाइएको आरोप मिथ्या हुन् । निर्वाचनको मैदानमा धेरै दल छन् । एमालेले लिएको राष्ट्रवादी विकासका योजना नै जनताले रुचाएका छन् । हामीसँग केन्द्रीय राजनीतिलाई दबाब दिन सक्ने शक्ति छ, सोहीअनुसार स्रोतको अभावमा हुन नसकेका काम केन्द्रीय सरकारमार्फत गराउन सक्छौं । म अरुभन्दा धेरै अघि छु । जनतालाई आर्थिक प्रलोभनमा पारेर मत माग्ने काम गरेको छैन । माडीलाई बिर्सेर अन्यत्र जाने र चुनावका बेला भित्रिने उम्मेद्वार भन्दा मेरो जनमत बढी छ । जित्ने कुरामा ढुक्क छु ।
माडीलाई पर्यटनको ‘हब’ बनाउँछुः नारदमणि पौडेल
माडीलाई पर्यटनको ‘हब’ बनाउँछुः नारदमणि पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस