कमल नाथ पौडेल
२० वर्ष सम्म रोकिएको स्थानीय तहको चुनाव घोषणाले राष्ट्र निर्माणको जग खन्ने कामको शुरुआत भयो । जनता पहिलो चरणको चुनावको लागी उपयुक्त उमेद्वारको पर्खाइमा र छनोटका लागि उत्साहित देखिएका थिए । तर, उमेद्वार छनोट गर्ने प्रक्रियामा राम्रा भन्दा पनि हाम्रा छनोट गर्ने कार्य भयो । हाम्रा भन्दा राम्रा उमेद्वार छनोट गर्न सकेको भए, जनताले केहि मात्रामा राहत महसुस गर्थे । स्पष्ट भिजन भएको, नागरिक विच लिखित प्रतिवद्दता र स्थानीय जनस्तरमा भिजेको दु:ख र सुखमा साथ दिने उमेद्वारलाई जनताले मत दिन चाहेका थिए । तर, राजनीतिकदलका केहि नेताको कारणले गर्दा जनतामा नैराश्यता छायो । यदि उमेद्वार छनोट प्रक्रियामा राजनीतिक दलले लचकता अपनाएर उपयुक्त र योग्य व्यक्ति जसले पाँच वर्षमा आफ्नो गाउँपालीका वा नगरपालीकालाई विकास गरि यहाँ सम्म पुर्याउन सक्छु भन्न सक्ने, नेपाल सरकारसँग वजेट र श्रोत साधनको लागि सहकार्य गर्न सक्ने, लगानीका अवसर भित्राउन सक्ने, नागरिक अपेक्षालाई व्यवस्थित गर्न सक्ने र अन्य पार्टीसँग समन्वय गर्न सक्ने व्यक्ति छनोट गरिदिएको भए जनता खुशी हुने थिए । तर विडम्बना, राजनीतिकदलका नेताले केहि पुराना, अनुभविको नाममा भ्रष्ट, हिम्मत नभएका र गुटवन्दीमा लागेका मानिसलाई उमेद्वार छनोट गरि दिए, साथै-साथै निर्वाचनमा खुलेआम राजनीतिकदलहरू लड़ाईमा उत्रिए । यस्तो किसिमको रवैयाले गर्दा देश विकास हुनुको सट्टा उधो गतिमा जाने सम्भावना देखियो । एउटा भनाई छ जुन घरमा सहि निर्णय लिन सक्ने व्यक्ति हुदैन, त्यो घरमा सधै अशान्तिले मात्रै बाँस गर्छ । जसले आफु जन्मेको कोखको इज्जत गर्न र सम्मान गर्न सक्दैन, त्यो व्यक्तिले न देशको विकास गर्न सक्छ, न जनताको । अव राजनीतिकदलहरूले आफ्ना गल्ती र कमिकमजोरीलाई हृदय देखि मनन गरि त्यसलाई सच्याई आम जनतालाई हितहुने कल्याणकारी नीति र योजना ल्याउन सक्नुपर्छ । कसैले पनि राष्ट्र, राष्ट्रियताको सवालमा पार्टी माथि औला ठड्याउने वातावरण वन्न दिनु हुदैन । देश विकासका लागि अध्यान, अनुसन्धान गर्ने, योजना र रणनीतिहरू बनाउने र विपक्ष राजनीतिक दलहरूसँग छलफलका साथै सहकार्य परामर्श गर्दै अगाडि बढ्न सकेन भने जनताको अगाडि राजनीतिकदलहरू मिती सकिएको औषधी जस्तै रद्दीको टोकरीमा मिल्कने र पार्टीका सिद्दान्त, आदर्श र मूल्यमान्यता ओझेलमा पर्दै जानेछन् । २००७ साल देखिको संघर्षले राणा ,पञ्चायत र राजतन्त्रको अन्त गर्दै आज गणतन्त्र, प्रजातन्त्र र लोकतन्त्र सम्म आउँदा पार्टीहरूले धेरै दु:ख कष्ट भोग्दै आएका छन् । यति हुँदाहुँदै पनि देशलाई आर्थिक समृद्दी तिर लानु पर्नेमा आफ्ना नजिकका कार्यकर्ता र आफुलाई मात्रै अगाडि वढाउने काम पार्टीका केहि जिम्मेवारी व्यक्तिवाट भइरहेको छ । पदमा पुगेपछि आफ्नो सिद्दान्त र निष्ठा विर्सदै छन, तसर्थ राजनीतिकदलहरू देश र सर्वसाधारण जनताको लागि घातक सिद्द भएका छन् । कुनै पनि राजनीतिकदलले आफ्ना कार्यकर्तालाई केन्द्र धाएर मात्र टिकट दिने प्रविधिको अन्त गर्न सक्नुपर्छ । जनताको भावना बुझ्न अति जरुरि छ । चाकडी र चाप्लुसीको आधारमा होइन क्षमतावान र इमानदारीलाई अवसर दिनुपर्छ । अव हुने दोश्रो चरणको चुनावमा जनतालाई दु:ख दिने काम नहोस, किनकि दिएको कुराहरू प्राय एक दिन हजार गुणा भएर फिर्ता आफैँ आउँछ । यस्तो प्रकारको परिपाटी वस्दै गयो भने जनताले राम्रोसँग सोच्नु पर्ने अवस्था आउनेछ । भविष्यमा लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्रको लड़ाईको धागो कुनैपनि वेला चुडिन सक्नेछ । यो यथार्थ तीतोसत्य हो । देशमा राजनेताहरुले पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थ भन्दा पनि राष्ट्रिय हित र जनताको हितलाई सर्वोपरी देख्ने हुनुपर्छ । भुइको टिप्न खोज्दा पोल्टाको पोखिन्छ कि भनेर सचेत हुनु जरुरी छ ।