धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,९ असार ।
पशुपालन व्यवसाय जटिल र जोखिमयुक्त पेशा हो । यही पेशाबाट धेरैले आयआर्जन गरेर घर गुजारा चलाइरहेका छन् । सजिलो पेशाको रुपमा पशुपालन व्यवसायलाई लिइए पनि पछिल्लो समय दूध उत्पादन हुने क्रम भने घट्दै गएको किसान बताउँछन् ।
व्यावसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरले बिहीबार आयोजना गरेको नगरमा निर्वाचित जनप्रतिनिधिको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा किसानहरुले पछिल्लो समय यस पेशातर्फ निराशा छाएको बताए । पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री अर्यालले पशु आहारको मूल्यवृद्धि, अव्यवस्थित प्लटिङलगायत कारण किसानमा निराशा छाएको बताए ।
“दूध उत्पादनका लागि पशुपालन पेशा जोखिम र जटिल छ”, अध्यक्ष अर्यालले भने, “पशु आहारको आकासिदो मूल्य तथा घाँसखेती गर्ने जमिन प्लटिङले गर्दा यो पेशा संकटमा छ । जमिनको खण्डीकरण बढ्दो छ, घाँस लगाउने ठाँउ छैन । गाई फर्महरुको संख्या घट्दै गएको छ, यो पेशा फस्टाउला जस्तो लाग्दैन ।” पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरका अध्यक्ष किशोर बगालेले पशुपालन पेशालाई आत्मनिर्भर र सम्मानित बनाउनुपर्ने बताए ।
दूध उत्पादन घट्दै गइरहेको भन्दै बगालेले बाहिरबाट दूध आयात गर्नुपर्ने अवस्था आउने भएकाले सरकारले किसानलाई प्रोत्साहित हुने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । “सरकारले किसानलाई दिनुपर्ने जति चासो हो त्यो कमै छ”, समाजका अध्यक्ष बगालले भने, “त्यसले गर्दा किसानमा निराशा छाएर दुग्ध उत्पादन घट्दै जानु भारतबाट दूध आयात गर्नुपर्ने संकेत हो ।” उनले उत्पादन र व्यवसायको आधारमा किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने बताए ।
जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. डिल्लीराम सेढाईंले देशको अर्थतन्त्रमा १२ प्रतिशत योगदान भएपनि पशुपालन व्यवसायलाई उपेक्षा गर्ने गरिएको बताए । “मुलुकको अर्थतन्त्रमा पशुपालन व्यवसायको महत्वपुर्ण योगदान छ”, डा. सेढार्इंले भने, “यो पेशालाई सम्मानित बनाउनु सबैको कर्तव्य हो ।” पशुको उचित उपचार, उचित आहार, दूधको बजारीकरण र नश्ल सुधार गर्न सके पशुपालन व्यवसाय दीर्घकालसम्म राम्रो पेशाको रुपमा रहने डा. सेढाईंको भनाइ थियो । दुग्ध उत्पादन मात्रै नगरी यसको विविधीकरण गरी उद्योग स्थापना गर्न सकेसमेत किसानको आर्थिक अवस्था उकासिने उनले बताए । पशुपालन किसानको विकास, दुग्ध उत्पादनका लागि रत्ननगर नगरपालिकाले पर्याप्त बजेट छुट्याएकोमा वरिष्ठ पशु चिकित्सक सेढाईंले धन्यवाद दिए ।
रत्ननगर नगरपालिकाले यसवर्ष घाँसखेतीका लागि मात्रै १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने पशु बीमा, गोठसुधार कार्यक्रमलाई समेत प्रोत्साहन गरेको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख (मेयर) नारायण वनले वास्तविक किसानले अनुदान नपाएको आफूले पनि देखेको भन्दै यसमा किसाननै सचेत हुनुपर्ने बताए । वास्तविक किसानको हातमा अनुदान पुग्न सकेको छैन् नगर प्रमुख वनले भने पौचवालाले ५० औ लाख खाने गरेका छन्,यसमा किसान सचेत हुनुस् । अनुदान पारदर्शी वनाउन,पशुपालन र दुग्धको विकासका लागि नगरपालिका सधै किसानको पक्षमा रहने मेयर वनले विश्वास दिलाए ।
रत्ननगर ७ का वडाध्यक्ष राजन भट्टले नगरपालिकामा प्रतिजग्गा, सार्वजनिक जग्गा प्रशस्त रहेकाले त्यस्ता जग्गामा सामुहिक घाँसखेती गरेर किसानलाई प्रोत्साहन गर्नुपर्ने आंैल्याए । समाजका अध्यक्ष किशोर बगालेको अध्यक्षतमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सल्लाहकार एकनारायण पौडेल, समाजका उपाध्यक्ष सत्यनारायण चौधरी, सचिव टोमराज भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।