८ असार । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई गोरखाल्यान्डको पक्षमा उभिएका छन् ।
भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा विगत एक सातादेखि गोरखाल्यान्डको माग गर्दै भएको आन्दोलन उत्कर्षमा पुगेका बेला बाबुरामले भारतको गोरखाल्यान्डको माग जायज रहेको उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका भट्टराईले बिहीबार बिहान ट्विट गर्दै भारतको आन्तरिक मामिलामा आफ्ना धारणा सार्वजनिक गरेका हुन् । उनले नागरिकका जायज मुद्दामा बोल्न मिल्छ भन्दै आफ्नो ट्विटलाई पुष्टि गर्न खोजेका छन् ।
बाबुरामले मधेस र गोरखाल्यान्ड दुवै माग जायज भएको उल्लेख गरेका छन् । संविधान जारी भएलगत्तै बाबुराम माओवादी पार्टी छाडेर तराई मधेस झरेका थिए । उनले मधेसको माग जायज भन्दै आफू लड्ने जनाएका थिए ।