रत्ननगर,८ अअसार
सरकारले लागू गरेको सामाजिक स्वास्थ्य बीमा कार्यक्रमको बारेमा बुधबार जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जानकारी गराइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन शहरी स्वास्थ्य क्लिनिक नरकटियाले अन्तरक्रिया कार्यक्रम आयोजना गरी वडा नम्बर ८ र वडा नम्बर ९ का जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा कार्यक्रम बारेमा जानकारी गराएको हो । कार्यक्रममा सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएर सबै नगर तथा वडाबासीलाई बीमा गर्न लगाउनुपर्नेमा जोड दिइएको थियो ।
सरकारले स्वास्थ्य सेवा सस्तो र सुलभ बनाउन स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । केही दिनअघि एक कार्यक्रम आयोजना गरी चितवनमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवार भएको घरको एक सदस्यले २ हजार ५ सय को बीमा गरेपछि ५० हजार रुपैयाँको बीमा हुनेछ ।
त्यस्तै पाँच जनाभन्दा बढी भएको हकमा भने प्रत्येक सदस्यले ४ सय २५ रुपैयाँ थप गर्नुपर्छ । कार्यक्रममा स्वास्थ्य बीमा दर्ता सहयोगी मञ्जु अधिकारीले सामाजिक स्वास्थ्य बीमा कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् । वडा नम्बर ९ का वडा अध्यक्ष रोशन आचार्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नम्बर ८ का वडा सचिव राजशरण न्यौपाने, नगर कार्यपालिका सदस्य सरस्वती लामा, वडा नम्बर ८ की सदस्य गोकर्णकुमारी महतो, वडा नम्बर ९ का सदस्य कमानसिंह चौधरी, नगर स्वास्थ्य क्लिनिक प्रमुख मीना कुँवर, क्लिनिक व्यवस्थापन समिति सदस्यहरु अशोकप्रसाद चौधरी, सुरेन्द्रकुमार थपलियालगायतले मन्तव्य व्यक्त गरेका थिए । वडा नम्बर ८ का वडा अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रम रीता थापाले सञ्चालन गरेकी थिइन् ।
जनप्रतिनिधिलाई स्वास्थ्य बीमाको जानकारी
जनप्रतिनिधिलाई स्वास्थ्य बीमाको जानकारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस