माडी,८ असार ।
माडी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले बाढीपीडितबारे चासो देखाएका छन् । माडीको अमिलियामा बाढीबाट पीडित स्थानीयलाई बसोबासमा समस्या भएपछि सहज बसोबासको वातावरण बनाउने उद्देश्यले माडीका मेयर ठाकुरप्रसाद ढकालसहित सरोकारवालाको टोलीले अनुगमन गरेको हो ।
वि.सं. २०६७ सालमा रिउ खोलमा आएको बाढीले अमिलिया गाउँ नै सखाप पारेको थियो । बाढीपछि त्यहाँका स्थानीय अन्यत्र स्थानान्तरण भए । बाढीले घरखेत नै बगाएपछि उनीहरुलाई माडी–२, भैरवपुर र माडी–१ को बरुवा ल्याइएको थियो । बरुवामा १८ र भैरवपुरमा २६ घरपरिवार छन् । अहिलेको बसोबास गर्दै आएको ठाउँ अव्यवस्थित भएपछि उनीहरुलाई एकीकृत गर्दै नमूना बस्तीको रुपमा विकास गर्ने माडी नगरपालिकाको तयारी छ ।
“अमिलियाका बाढीपीडित अव्यवस्थितरुपमा रहेका छन्”, माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने, “उनीहरुलाई नगरपालिकाले किनेको जग्गामा व्यवस्थित गर्ने सोच छ ।”
एकीकृत बस्ती बसाल्नकै लागि माडी नगरपालिकाले भैरवपुरमा १ विघा १४ धुर जग्गा किनेको थियो । भैरवपुरमा व्यक्तिको नाउँमा रहेको जग्गा किनिएको थियो । बस्ती व्यवस्थापनका लागि आधिकारिक निर्णय नभएपनि उनीहरुको बसोबासलगायत दैनिकी कष्टकर रहेकाले छिट्टै व्यवस्थापन गरिने मेयर ढकालले बताए । बाढीबाट विस्थापित भएकाहरु २६ परिवार नगरपालिकाको जग्गा रहेको भैरवपुरमा, १० परिवार वडा कार्यालयको जग्गा र ८ परिवार सार्वजनिक जग्गामै बसोबास गर्दै आएका छन् ।
उनीहरुलाई सर्वदलीय निर्णयबाटै यहाँ स्थानान्तरण गरिएको थियो । बाढीबाट विस्थापितमध्ये प्रायः दलित समुदायका छन् । उनीहरु मजदुरी गररै जीवन गुजारा चलाउँदै आएका छन् । कष्टपूर्ण जीवन बिताइरहेका उनीहरुको अवस्थाबारे माडीका मेयर ढकाल, माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, सदस्य अमित तामाङ, नेपाल सुकुमबासी सुधार समिति रत्ननगरका अध्यक्ष फुलबहादुर तामाङ, लुमन्ती आवासका लागि सहयोग समूह रत्ननगरका संयोजक सिंहबहादुर लामा र पत्रकारसहितको टोलीले स्थलगत अनुगमन गरेका छन् ।
सो अवसरमा बाढीपीडितले आफूहरु जनावरको जस्तै जीवन बिताउन बाध्य भएको भन्दै व्यवस्थित गरिदिन नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । जवाफमा मेयर ढकालले प्रक्रिया पूरा गराएर सबैलाई व्यवस्थित बसोबासको वातावरण मिलाउने वचन दिए ।
बाढीपिडितको बस्ती नमूना बनाउँछौं ः ढकाल
बाढीपिडितको बस्ती नमूना बनाउँछौं ः ढकाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस