बैशाख २७, माडी
माडी नगरपालिकाको उपमेयरकी उम्मेदवार सरिता महतो (अपेक्षा)ले नगर उप–प्रमुखबापत पाइने भत्ता सार्वजनिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् । उपमेयरका रुपमा आउने सबैखाले भत्ता रकमबाट माडीका गरीब, निमुखा, सुकुम्बासी, बाढीपीडित, निकुञ्जपीडित र विशेषगरी पछाडी परेका आदिवासी थारु तथा बोटे समुदायलाई सहयोग गर्ने उनले घोषणा गरेकी हुन् ।
नेकपा (माओवादी केन्द्र)बाट उपमेयरको उम्मेदवार खडा हुनुभएकी अपेक्षा यसअघि सञ्चारकर्मीका रुपमा क्रियाशील रहेकी थिइन । माडीको स्थानीय सामुदायिक रेडियो माडी र माडी राष्ट्रिय साप्ताहिक पत्रिकामा आबद्ध उनले निकुञ्जमा खटिएका सेनाहरुबाट अविवाहित आमा बनेका माडीका महिलाहरुको अधिकार रक्षा र सामुदायिक पुनस्र्थापनाका लागि अत्यन्त प्रतिकुल परिस्थितिका बिच दर्जनौं अभियान र थुप्रै कानुनी लडाँइहरु लडेकी र जितेकी छिन् । त्यसैगरी विभिन्न संघसंस्थाहरु सामुदायिक परिचालकका रुपमा माडीमा महिलामाथि हुने घरेलु हिंसा एवं सामाजिक, राजनैतिक र साँस्कृतिक विभेदका बिरुद्ध संघर्ष गरिरहेकी पनि छिन् ।
उनले थारु, दराई, बोटे, चेपाङ, तामाङ, दलित र परिचयपत्रका आधारमा विपन्न तथा सुकुम्वासी समुदायका वालबालिकाहरुलाई उच्च शिक्षा निःशुल्क व्यवस्था गर्ने, आदिवासी थारु जातीको संङ्ग्रहालय निर्माण एवं थारु भाषा, साहित्य र सँस्कृतिको जगेर्नाका गर्नका लागि विशेष कार्यक्रम ल्याइने योजनाहरु सार्वजनिक गरेकी छिन् । कम्प्युटर तथा सुचना प्रविधिबारे राम्रो दख्खल भएकी उनले माडी नगरपालिकाभरी तत्कालै निःशुल्क वाइफाइ इन्टरनेटको व्यवस्था गर्ने र दीर्घकालीन योजनामार्फत शुसासनको अभ्यासद्वारा सदियौंदेखि समाजमा व्याप्त वर्गिय, लिङ्गीय, जातिय, क्षेत्रीय अन्तरविरोध हल गर्ने जनाएकी छिन् । यो संगै माडीको सडक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकूद र अन्य क्षेत्रहरुमा पाँचबर्षभित्रमा पुरा गर्ने प्रतिबद्धता–पत्र समेत सार्वजनिक गरेकी छिन् ।