प्रेम क्षेत्री
गैंडाकोट, असार ६ । नवलपरासीको गैंडाकोट ४ मा एकल महिलाहरुले उद्योग स्थापना गरेका छन् । नारी कल्याण एकल महिला पौरवि मञ्चले स्थापना गरेको एकल नारी कल्याण उद्यम केन्द्र (गार्मेन्ट) को आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । केन्द्रको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले महिलाहरुको यो प्रयासका प्रशंसा गर्दै विदेश जानुभन्दा नेपालमा नै बसेर मेहनत गरे राम्रो आम्खानी गर्न सक्ने बताउनुभयो । उहाँले उद्योगका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख बिष्णु कंडेलले महिला घरको चुलो चौकोमा मात्र सिमित नभई आफनो हक र अधिकारको पाटोमा अगाडि बढनुपर्ने बताउनुभयो । आम्दानीका स्रोत खोजी गरि आर्थिक पाटोमा सक्रिय भएर अगाडि बढन आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा गैँडाकोट नगरपालिका कार्यकारी अधिकृत शिवप्रसाद रिजालले राम्रो उद्योगको स्थापना भएकोमा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवि टोलनाथ घिमिरे, गैँडाकोट वडा नं.४ का वडा अध्यक्ष कृष्ण न्यैपाने, उद्योग वाणिज्व संघका उपाध्यक्ष दिपक सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष लक्ष्मी भटराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।