६ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको बताएका छन् ।
नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्धारा लिखित पुस्तक ‘अंश’को विमोचन गर्दै प्रचण्डले नेपालमा जनयुद्ध समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण सम्भव भएको दावी गरे ।
‘नेपालमा जनयुद्ध प्रचण्ड, बाबुराम वा अरु कुनै नेताको मनोगत चाहनाले भएको थिएन । हामीले त २०४४ सालमै जनयुद्ध गर्न चाहेका थियौं, हतियार किनेर गोरखामा तालिम पनि लिएका थियौं । तर, देशको राजनीतिले अर्कै मोड लियो’, प्रचण्डले भने, ‘पञ्चायतका विरुद्धमा सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनुयद्ध गरेको भए जनआन्दोलनका विरुद्धमा पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो । त्यसैले हामी संयुक्त जनआन्दोलन समिति बनाएर २०४६ सालको जनआन्दोलनमा भाग लियौं र युद्धको परिस्थिति केही वर्ष पछि धकेलियो ।’
आफूहरुले १२ बुंदे समझदारी नेपालमै होस् भन्ने चाहे पनि प्रतिकूल परिस्थितिका कारण सम्भव नभएको प्रचण्डले बताए । उनले भने, ‘हामीले वार्ताका लागि कोशिस गरिरहेका थियौं । वीरेन्द्रका भाइ धिरेन्द्रसँग त साथीहरुले प्रत्यक्ष कुराकानी गर्नुभएको थियो । वीरेन्द्रसँग वार्ताको प्राविधिक विषयमा कुराकानी चलिरहेको थियो, त्यही बेला दरबार हत्याकाण्ड घट्यो । दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लियो ।’
दरबार हत्याकाण्डले देशभित्रका गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिहरुबीच समझदारी गरेर जानुपर्ने ऐतिहासिक आवश्यकता जन्माएको बताएका प्रचण्डले यही प्रतिकूल परिस्थितिका कारण देशभित्रै चाहेर पनि दिल्ली गएर १२ बुंदे समझदारी गर्नुपरेको बताए ।
नेपालको गणतन्त्र र लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको ठूलो भूमिका रहेको चर्चा गर्दै प्रचण्डले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको स्थापनामा पत्रकारहरुको महत्वपूर्ण भूमिका छ । सञ्चार जगतले सकारात्मक भूमिका नखेलेको भए लोकतन्त्र र गणतन्त्र स्थापना नै चुनौतिपूर्ण हुन्थ्यो ।’