६ असार । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा पुनःमतगणना भन्ने विवादमा सर्वाेच्च अदालतले सबै कागज झिकाउन आदेश दिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमाथि मंगलबार सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले सात दिनभित्र सक्कल प्रति झिकाउन आदेश दिएको हो । अदालतले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कल प्रति मागेको हो ।
मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । त्यसपछि आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको भन्दै स्थानीय तह निर्वाचन ऐनअनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।