६ असार ।
संवैधानिक परिषद्को सोमबार बसेको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन ।
परिषद् सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।
सभामुख ओनसरी घर्तीले सकभर सहमतिमै नयाँ प्रधानन्यायाधीशको नियुक्ति गरिने बताइन् ।
दोस्रो बैठकमा पनि सहमति नजुटे बहुमतीय प्रणालीबाट प्रधानन्यायाधीश नियुक्ति गर्न सक्ने प्रावधान रहेको उनले बताइन् ।
संवैधानिक परिषदमा प्रायः सहमतिका आधारमा नियुक्ति भइरहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
प्रधानन्यायाधीशको पद रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा परिषदमा कानून तथा न्याय मन्त्री सदस्यका रुपमा रहने प्रावधान छ ।