विप्लव काफ्ले/कायाकैरन
भरतपुर,६ असार ।
माडी जाने निकुञ्जभित्रको बाटो स्तरोन्नतिको काम धमाधम भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको सुविधा प्राप्त बाटोमध्ये झण्डै तीन किलोमिटर सडक उच्चस्तरको ग्राबेल गरिएको छ । भरतपुर–माडी–ठोरी सडक खण्डमध्ये निकुञ्जको बाटो थोरै बजेटले वर्सेनि मर्मत गरिएपनि सडक सुधार हुन सकेको थिएन ।
राप्ती पुलदेखि रेवा खोला पुलसम्मको करिब ११ किलोमिटर सडक स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुगेको छ । ग्रेडरको प्रयोग गरी पानी हालेर भ्राईबेटरसहितको रोलिङ गर्ने काम भएको छ । विगतमा ठूला ढुंगा राखेर मर्मत गरिदा यात्रा निकै जोखिमपूर्ण बन्दै आएको थियो । जिल्ला समन्वय समिति चितवनबाट विनियोजित २० लाख रुपैयाँमार्फत निकुञ्जभित्रको सडक स्तरोन्नति कार्य गरिएको हो । माडी बसन्तपुरका श्रीप्रसाद दवाडीले बाटो सुधारको कामले स्थानीय खुसी बनेको बताए । “जंगल पार गर्न मुस्किल पथ्र्याे, ठुल्ठूला ढुंगा थिए, खाल्डाखुल्डी थियो”, उनले भने, “यस वर्षको मर्मतले सडकको स्वरुप कालोपत्रे जस्तै बनेको छ ।” सडक मर्मतमा मसिना ग्राबेल प्रयोग गरेर ग्रेडर लगाएपछि बाटोको स्वरुप फेरिएको हो ।
उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले २ किलोमिटर ५ सय मिटर दुरीको निकुञ्जभित्रको सडकमा उच्चस्तरको ग्राबेल गर्ने काम पूरा भएको बताए । “धुव्र पोष्टदेखि कसरा पोष्टसम्मको सडकलाई उच्चस्तरको ग्राबेल गर्ने काम पूरा भएको छ”, उनले भने, “खगेरीबाट ल्याइएको मसिनो गिटी प्रयोग गरिएको छ ।” जेठ १६ गते सम्झौता भएपछि जेठ २१ बाट काम सुरु भएको थियो । असार २० गतेभित्र काम पूरा गरिसक्नुपर्ने उल्लेख छ ।
माडीका खोलामा प्रशस्तै खोलामा ग्राबेल भएपनि खगेरीबाटै ग्राबेल महँगो मूल्यमा भित्राइएको छ । “माडीमा मसिनो ग्राबेल छैन, बालुवा बढी मिसिएका ग्राबेल मात्रै छन्”, उनले भने, “सम्झौताअनुसारै खगेरीको ग्राबेल ल्याइएको हो, माडीबाट सहजै ग्राबेल ओसार्ने अनुमति पनि छैन ।” जिल्ला समन्वय समितिका प्राविधिक रामनरेश चौधरीले निकुञ्जभित्रको ११ किलोमिटर सडक मर्मत तथा स्तरोन्नति गर्न बजेट विनियोजन भएको बताए । “ध्रुव पोष्टबाट माडी जाने सडकमा विगतमा राखिएका ग्राबेल जोतेर बीचमा ल्याइन्छ”, उनले भने, “पानी हालेर रोलर गरी सडक सुधार गर्ने गरी सम्झौता भएको छ ।” थोरै बजेटले गर्दा सबै सडकलाई उच्चस्तरको ग्राबेल गर्न नसकिने बताए । “पहिलेभन्दा सडकको अवस्था सुधार हुन्छ”, उनले भने, “४ मिटरको उच्चस्तरको ग्राबेल बन्छ, ५ मिटर चौडाइमा ग्रेडर लगाएर सडक मिलाइन्छ ।” निकुञ्जकै दोस्रो सडक खण्ड बगइखोलादेखि अमुवाखोलाबीच करिब २१ किलोमिटर सुविधा प्राप्त बाटो भने जीर्ण छ ।
पूरै उच्चस्तरको ग्राबेल बनाउँछुः माडी मेयर
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडी जाने निकुञ्जभित्रको पूरै सडकलाई उच्चस्तरको ग्राबेल बनाइने बताएका छन् । नगरपालिकाले यो वर्षका केही फ्रीज हुने अवस्थामा पुगेका योजनाको बजेटमार्फत मर्मत गर्नेबारे पहल गरिरहेको बताए । “राप्तीदेखि रेवा पुलसम्मको बाटो पूरै उच्चस्तरको ग्राबेल गर्ने काम गर्नुपर्छ”, उनले भने, “थोरै बजेटले काम पूरा हुन सकेन, हामी विकल्पबारे सोच्दैछौं ।” उनका अनुसार मन्त्रालयस्तरबाट स्वीकृत गरेर थप २० लाख बजेटमा उच्चस्तरको ग्राबेल गर्ने योजनामा लागिरहेको बताए । विगतको सडकको तुलनामा अवस्था सुधारिएपनि उच्चस्तरको ग्राबेल गराउन लाग्ने उनले बताए । यो आर्थिक वर्ष नभए साउनभित्रै पूरै सडक उच्चस्तरको ग्राबेल राखिने जिकिर गरे ।
११ रुख हटाइए
माडी जाने निकुञ्जभित्र रहेको सडक छेउमै रहेका केही सालका रुख हटाइएका छन् । सडक फराकिलो पार्ने अभियानलाई सघाउने गरी चितवन राष्ट्रिय निकुञ्जले सडक अवरोध गरेका सालका रुख हटाएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले ११ वटा रुख हटाइएको बताए । “सडक अवरोध गरिरहेका ११ रुख हटाएका छौं”, उनले भने, “ती रुख निकुञ्ज व्यवस्थापनमै उपभोग हुनेछन् ।” सडक मर्मत उपभोक्ता समितिले २० रुख हटाउनुपर्ने सुझाव निकुञ्जलाई दिएको थियो । तर, निकुञ्जले सडक अवरोध गरेका नहटाई नहुने रुख मात्रै हटाउन सकिने अडान लिएको थियो । ८७ रुख मार्किङ गरेर हटाउन सकिने भन्दै विभागमा यसअघिनै निकुञ्जले जनाकारी गराएको थियो । माडी नगरपालिकाको आर्थिक सहयोगमा रुह हटाइएका हुन् । सडक मर्मतका क्रममा ४० वटा सालका ठुटाहरु हटाइएका छन् ।