भरतपुर,६ असार।
बिपद् मा बालसंरक्षणबारे चितवनमा ३३ जनाले तालिम लिएका छन् । महिला तथा बालबालिका कार्यालय भरतपुरको समन्वय तथा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ–नेपाल)को सहयोगमा दियालो परिवार नारायणगढले तालिम दिएको थियो ।
फागुन १४ गतेदेखि तीन दिनसम्म चलेको तालिमको सोमबार समीक्षा गरिएको छ । दियालो परिवार नारायणगढले तालिम १२ जिल्लामा सम्पन्न गरेको थियो । दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक सीताराम भट्टले विपद्मा बालबालिकालाई संरक्षण गर्नेबारे सरोकारवालालाई लक्षित गरी तालिम दिइएको बताए ।
उनका अनुसार कास्कीमा ३४ जना, नवलपरासीमा ३७ जना, रुपन्देहीमा ३४ जना, पर्सामा ३० जना, धनुषा र सर्लाहीमा ३३–३३ जना, बारा र महोत्तरीमा २५–२५ जनालाई तालिम दिइएको छ । तनहुँ, कपिलवस्त, रौतहटमा ३१–३१ जनालाई तालिम दिइएको छ । १२ जिल्लामा कूल ३ सय ७७ जनाले तालिम लिएका छन् ।
तालिम लिनेमध्येमा महिला तथा बालबालिका कार्यालयका ९६ जना, अन्य सरकारी कार्यालयका ६२ जना, प्रहरी तथा सेना ४५ जनाले तालिम पाएका छन् । यस्तै बाल क्लब तथा स्कूलबाट १६ जना, बालबालिकाको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाबाट १ सय २५ जना, नेपाल रेडक्रस सोसाइटीबाट १२ जना, सञ्चारकर्मी १८ जना, उद्योगी व्यवसायीबाट ३ जनाले यो तालिम लिएका छन् ।
“विपद् आउनुपूर्व, आउँदा र आएपछिको अवस्थामा बालबालिकालाई कसरी संरक्षण गर्ने भन्नेबारे तालिम दिइएको हो”, उनले भने, “सरकारले लिएको रणनीति र अन्तराष्ट्रिय मान्यताबारे जानकारी गराइएको छ ।” तालिम प्राप्त व्यक्तिले विपद्मा जोखिम न्यूनिकरण गर्न सघाउने बताए । दियालो परिवार नारायणगढका अध्यक्ष केदारनाथ खनालले कृत्रिम घटना अभ्यास गराएर विपद्मा बालबालिका संरक्षणबारे अभ्यास गराइएको बताए । “विपद्मा बालबालिका उच्च जोखिममा हुन्छन्”, उनले भने, “बेलैमा नीति बनाउन सकिए मानवीय क्षति कम गर्न सकिन्छ, उद्धारमा सहयोग पुग्छ ।”
मानवीय कार्यमा बालसंरक्षणका लागि बनाइएको न्यूनतम मापदण्डका ४ खण्ड, २६ वटा मापदण्डहरु र तिनका १७२ वटा सुचकहरुबारे तालिममा जानकारी गराइएको थियो । स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले विपद्को जोखिम न्यूनिकरण गर्न पूर्वतयारी अति आवश्यक रहेको बताए । “पूर्वतयारी गरेर योजना बनाउँदा जोखिम गर्न गर्न सजिलो हुन्छ, उद्धार तथा राहतमा सजिलो हुन्छ”, उनले भने, “सबै क्षेत्रको समन्वय गरेर विपद्मा हुन सक्ने क्षती रोक्नुपर्छ ।”
महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले बालबालिका, महिला, जेष्ठ नागरिक तथा अशक्त अपाङ्गका लागि एकीकृत गरेर विपद्बाट संरक्षण गर्ने योजना बनाउनुपर्ने आवश्यकता देखिएको बताइन् । यूनिसेफ नेपाल क्षेत्रीय कार्यालय भरतपुरका कामदेव खनालले बालसंरक्षण प्रणालीलाई मजबुत बनाइनुपर्ने बताए । “बालसंरक्षण प्रतिकार्यका लागि रणनीतिक योजना बनाउनुपर्छ”, उनले भने, “जिम्मेवार निकायहरु, मानवीय कार्यमा संलग्न निकायहरु तथा नागरिक समाजका कार्यकर्ताबीच सहकार्य अत्यावश्यक छ ।” उनले विपद्पूर्व गरिने सर्वेक्षण, तथ्यांक संकलन, उद्धारमा तालिम प्राप्त जनशक्ति हुनुपर्नेमा जोड दिए ।
बिपद् मा बालसंरक्षणबारे तालिम
बिपद् मा बालसंरक्षणबारे तालिम

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस