धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,६ असार ।
रत्ननगर क्षेत्रका सुकुमबासीले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने माग जननिर्वाचित प्रतिनिधिसँग गरेका छन् । नेपाल बसुकुमबासी सुधार समिति र आकृति महिला बचत तथा ऋण सहकारी संस्थाले सोमवार रत्ननगरको सालघारीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले निर्वाचित प्रतिनिधिबाट सुकुमबासीको बिल्ला हट्ने विश्वाससमेत व्यक्त गरे ।
रत्ननगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा सुकुमबासीले लालपुर्जा कहिले पाउँछौ भन्दै प्रश्न गरे । कार्यक्रममा बोल्दै नेपाल सुकुमबासी सुधार समितिका कोषाध्यक्ष हरि नेपालीले सुकुमबासीमाथि राज्यले गरेको व्यवहार अन्य नागरिक सरह नभएको गुनासो गरे । “अझैपनि हामी राज्यबाट दोस्रो दर्जाको नागरिक भएर बस्नुपरेको छ”, कोषाध्यक्ष नेपालीले भने, “लालपुर्जा पाउने आशामा वर्षौं बित्यो, सरकार किन हाम्रो पक्षमा छैन ?” अहिले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा जनप्रतिनिधिबाट प्राप्त हुने विश्वास उनको छ । स्थानीय चन्द्रमाया गुरुङले दलहरुले सुकुमबासीलाई भोटबैंकको रुपमा मात्रै प्रयोग गर्ने गरेको भन्दै दुखेसो पोखिन् । “भोट माग्नकै लागि कति नेता आए, गए । तर, अहिलेसम्म हाम्रो गुनासो सुनेनन्”, गुरुङले भनिन्, “अब यस्तो निर्वाचित प्रतिनिधिबाट नहोस् ।”
लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने आवाज उठाउँदै रत्ननगरका सुकुमबासीले समिति नै बनाएर संघर्ष गरिरहेका छन् । स्थानीय तहको निर्वाचन भएसँगै उत्साहित बनेका सुकुमबासीले आफ्ना समस्याको विषयमा प्रस्तावना पत्र नै तयार पारेर नवनिर्वाचित जनप्रतिनिधिलाई सुनाएका थिए । सो अवसरमा बोल्दै रत्ननगर नगरपालिकाका नगर प्रमुख (मेयर) नारायण वनले पाँच वर्षभित्र प्रक्रिया पूरा गरेर सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने आश्वासन दिए । स्थानीय सरकार भनेपनि अधिकार प्राप्त नभएकाले अहिले लालपुर्जा प्रदान गर्न नसकिने भन्दै नगर प्रमुख वनले सुकुमबासीको अधिकारका लागि लडिरहने बताए ।
“सिंहदरबारको अधिकार स्थानीय तहमा आएको भनिएको छ”, नगर प्र्र्रमुख वनले भने, “तर पूरै अधिकार हामीलाई नदिदा समस्या छ, तपार्इंहरुको माग आगामी पाँच वर्षभित्र पूरा गर्न प्रयासरत हुनेछु ।” सुकुमबासीको नाममा हुकुमबासी पनि जग्गा कब्जा गर्न उद्धत रहेको भन्दै नगर प्रमुख वनले वास्तविक सुकुमबासी पहिचानका लागि सहयोग गर्न आग्रह गरे । “हुकुमबासीका कारण सुकुमबासी समस्या समाधान हुन सकेको छैन”, नगर प्रमुख वनले थपे, “वास्तविकता पहिचान पछि लालपुर्जा प्रक्रिया अघि बढाउनुपर्छ ।”
रत्ननगर–१४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ र रत्ननगर–७ का वडाध्यक्ष लालबहादुर भट्टले हुकुमबासीदेखि सचेत रहन उनीहरुलाई आग्रह गरे । “पुर्जा व्यवस्थापन गर्न हामी तयार छौं”, वडाध्यक्षहरुले भने, “तर हुकुमबासी छानबिनमा सहयोग पु¥याउनुस् ।” नेपाल सुकुमबासी सुधार समिति रत्ननगरका अध्यक्ष फुलबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर–४ का वडाध्यक्ष रवीन्द्र चौधरी, रत्ननगर–१ का वडा सदस्य शालिग्राम पराजुली, आकृति महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फूलकुमारी लामा, सुधार समितिका सदस्य नारायण विकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जनप्रतिनिधिलाई सुकुमबासीको प्रश्न – लालपुर्जा कहिले पाइने हो ?
जनप्रतिनिधिलाई सुकुमबासीको प्रश्न – लालपुर्जा कहिले पाइने हो ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस