५ असार । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्न सकेन । सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा प्रधानन्यायाधीश सिफारिस हुन नसकेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
जेठ २४ गते उमेरहदका कारण सुशीला कार्कीले अनिवार्य अवकाश पाएपछि कामु प्रधानन्यायाधीश गोपाल पराजुली छन् । जाने बेलामा तत्कालीन प्रधानन्यायाधीश कार्की एक्लैले न्यायपरिषद्को बैठक नै नबसी ६ जना न्यायाधीशको नाम प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्लाई सिफारिस गरेकी थिइन् ।
उनले पराजुलीका अलावा दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेकी थिइन् ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको संवैधानिक परिषद्को बैठकमा तिनै नामको विषयमा छलफल भएको थियो । स्रोतका अनुसार सत्तारुढ कागं्रेस–माओवादी केन्द्रले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने अडान राखेका थिए । तर, एमालेले भने पराजुलीको नाममा आपत्ति जनाएको बताइएको छ ।
दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि सोमबारको परिषद् बैठक निष्कर्षविहीन हुन पुगेको हो । बैठकमा प्रधानमन्त्री देउवा, विपक्षी दलका नेता केपी ओली, उपसभामुख गंगा यादव, सभामुख ओनसरी घर्ती मगर, उपप्रधान एवं कानुनमन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए ।