भरतपुर, २७ वैशाख ।
कार्यक्रम थियो रिपोर्टर्स क्लब चितवनले आयोजना गरेको मेयरका उम्मेद्वारसँगको अन्तरक्रिया । प्रमुख पार्टीका मेयर र उपमेयरका उम्मेद्वार बोलाइएका थिए ।
१ बजेका लागि जिल्ला समन्वय समिति कार्यालयको हलमा तय कार्यक्रममा ऋषि धमला आफै कार्यक्रम सञ्चालक बन्नेवाला थिए । तर, रिपोर्टर्स क्लबका केन्द्रीय अध्यक्ष धमला आफै पौने ३ बजेतिर आए । आउनासाथ धमलाको मन्तव्य भनी उद्घोषक कृष्ण आचार्यले माइक दिए । उनले धाराप्रवाह भाषण दिए ।
त्यसपछि क्रमशः मेयरका उम्मेद्वारहरु भाषणका लागि निम्त्याइए । तीनजना उम्मेद्वार बद्री तिमिल्सिना, देवी ज्ञवाली र रेणु दाहालले क्रमशः भाषण गरेपछि ऋषि फेरि उठे । अनि जनताको प्रश्न भनी अघिल्तिरका प्रश्न लिए । अघिल्तिर पूरै कार्यकर्ता थिए । तिनका प्रश्न पार्टीबाटै गाइड गरिएका हुने नै भए ।
एकपछि अर्को गरी आफ्ना प्रतिस्पर्धी पार्टीका उम्मेद्वारप्रति आक्रामक प्रश्न आउन थालेपछि हल पूरै हल्लाले भरियो । तुलनात्मकरुपमा एमाले कार्यकर्ताले भरिराउ हलमा रेणुले कतिपय प्रश्नको जवाफ दिनै सकिनन् भने धेरैजसो जवाफमा एमाले कार्यकर्ताले हल्ला गरेर सुन्नै दिएनन् । एमाले कार्यकर्ता बसेको ठाउँबाट उठेर रेणुतिरै जाइलाग्न थालेपछि धमलाले कार्यक्रम नै रोक्नुप¥यो ।
रेणुले जवाफ दिन सकिनन्
भषणक्रममा रेणुले चितवनलाई नेपालकै राजधानीका रुपमा विकास गर्ने बताइन् । पछि अघिल्तिर रहेकी तारा बरालले ३ नम्बर प्रदेशको राजधानी बनाउन नसक्नेले देशकै राजधानी कसरी बनाउँछ्यौ भन्ने प्रश्न राख्दा रेणुले त्यसको जवाफ दिइनन् । त्यसपछि हलमा नाराबाजी भयो । एमाले कार्यकर्ताले ठूलो हल्लासहित नारा लगाएपछि उनले जवाफ दिइन् । भनिन्, “माथि कुरा भइराछ । सरकारले पनि सल्लाह गरिराछ, चितवनलाई वैकल्पिक राजधानी बनाउन सकिन्छ ।”
ऋषि धमलाले भोटको प्रतिशत सोधेपछि
धमलाले तीनै उम्मेद्वारलाई सोधे, “तपाईंले कति प्रतिशत भोट ल्याएर चुनाव जित्नुहुन्छ ?”
देवी ज्ञवालीले भने, “म शतप्रतिशत चुनाव जित्छु । सामान्य बहुमतका लागि आवश्यक प्रतिशत मत ल्याएर जित्छु ।”
रेणु दाहालले भनिन्, “यति नै ल्याउँछु भनेर आँकलन त गरेकी छैन । तर, हेरिरहनुस्, कम्तीमा ८० प्रतिशत मत ल्याउँछु ।”
बद्री तिमिल्सिना उठे, “भएजति भोट उहाँहरुले ल्याउँछु भनेपछि मैले कसरी जित्छु भन्नु । मचाहिं तपाईंहरुले भोट हाले जित्छु, नहाले जित्दिन ।”