४ असार । दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने ३५ जिल्लाका ३३४ स्थानीय तहमा आइतबार बिहान ८ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा मतदान हुँदैछ ।
निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ । मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
२१ वर्ष पूरा भएको र उम्मेदवार हुन चाहेको सम्बन्धित वडा, गाउँ वा नगरको मतदाता नामावलीमा नाम भएको व्यक्तिले उम्मेदवारी दिन पाउनेछन् । उम्मेदवार मनोनयन पत्रमा सम्बन्धित ठाउँकै मतदाता रहेका एकजना प्रस्तावक र एकजना समर्थकले हस्ताक्षर गर्नुपर्नेछ ।
दोस्रो चरणमा एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । ती स्थानबाट १५ हजार ३८ जनप्रतिनिधि चुनिने आयोगले जनाएको छ । ६४ लाख ३२ हजार ७६५ जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् । निर्वाचनका लागि कुल ८३ सय ६४ मतदान केन्द्र तोकिएको छ ।
सुरक्षाकर्मीबाहेक निर्वाचन सञ्चालनका लागि ६६ हजार नौ सय कर्मचारी खटिने आयोगले जनाएको छ । एउटै राजनीतिक दलले नगरपालिकाको प्रमुख र उपप्रमुख वा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिंँदा दुईमध्ये एउटा पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधान छ । दलबाट उम्मेदवार हुनेले सम्बन्धित दलको आधिकारिक पत्रसमेत मनोयनसँगै पेस गर्नुपर्ने छ ।
प्रदेश नम्बर १ मा एक महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १३७ स्थानीय तह छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउापालिकासहित १०९ स्थानीय तह छन् । प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित कुल ८८ स्थानीय तह छन् ।