विप्लव काफ्ले/कायाकैरन
भरतपुर,३असार ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत चितवन क्षेत्र नम्बर ४ मा ३८ किलोमिटर बढी लामो सडक स्तरोन्नती गरिएको छ । निर्वाचित सांसद रामकृष्ण घिमिरे मार्फत छनौटमा परेका २५ योजना मध्ये ६ वटा सडकखण्डमा कालोपत्रे गरिएको थियो । पूर्वाधार विशेष कार्यक्रम अन्र्तगत विनियोजित ३ करोड रुपैयाँ बराबरका दुई सडक स्तरोन्नती काम सकिएका छन् । १० वटा योजना अन्तिम चरणमा पुगेका छन् । अन्य निर्माणधिन अवस्थामा छन् ।
जसमध्ये २ किलोमिटर २० मिटर कालोपत्रे सडक बनेको छ । यस्तै १२ वटा सडक मर्मत भएका छन् । जसमध्ये २५ किलोमिटर बढी सडक मर्मत गरिएको छ । ७ वटा सडक खण्डमा उच्चस्तरको ग्राबेल राखिएको छ । १० किलोमिटर ३ सय ६५ मिटर दुरी सडक उच्चस्तरको ग्रोबलीङ भएको छ । ६ सय २५ मिटर उच्चस्तरको ग्राबेलिङ गरिएको सडक खण्डमा २ सय मिटर कालोपत्रे गरिएको छ । भरतपुर इन्द्रपुरीका शंकरनाथ अधिकारीले भित्रि सडकहरु स्तरोन्नतीको अभियान सुरु भएको बताए ।
“अपुग रकम जनश्रमदान गरि सडकमा ग्राबेल राख्ने काम गरेका छौँ”, उनले भने, “वर्षायामा हिलाम्मे बन्ने सडकको अवस्था सुध्रिएको छ ।” जनकल्याणचोक हुदै पूर्वगणेशचोक र जनकल्याण चोक हुदै हुलाकी सडकको सिद्धेश्वरचोक हुदै महेन्द्रचोक जाने सडकमा ग्राबेल राखिएको छ । भरतपुर ६ का वडाध्यक्ष हरिविलाश कोइरालाले भित्रि सडक ग्राबेल गर्ने काम तीव्र गतिमा भएको बताए । “संसद विकास कोषबाट सडक सुधारका काम धमाधम भएका छन्”, उनले भने, “आगामी दिनमा कालोपत्रे गर्न सहज बनेको छ ।”
भरतपुर १७ का स्थानीय बलराम पौडेलले भित्रि सडक सुधार भएपछि स्थानीयमा उत्साह थपिएको बताए । अर्का स्थानीय वीरेन्द्र घिमिरेले विजयनगर हुदै छहारीचोक जाने सडक ४० लाखको लागतमा निर्माणाधिन रहेको बताए । “वेस राख्ने काम सकिएको छ, चाँडै कालोपत्रे गरिने छ”, उनले भने, “१ किलोमिटर बढी कालोपत्रे हुनेछ ।” भरतपुर १८ की सुस्मा गुरुङले २ हजार २ सय मिटर सडकमा उच्चस्तरको ग्राबेल राख्ने काम सकिएको बताइन् । “स्थानीयबाट पनि रकम उठाएर बाटो बनाएका छौँ”, उनले भनिन्, “सांसद विकास कोषबाट आएको रकमबाट बाटो सुधारिएको छ, साइकल चलाउन मुस्किल बाटोको मुहारनै फेरिएको छ ।”
चितवन क्षेत्र नम्बर ४ का सांसद रामकृष्ण घिमिरेले हिलाम्मे हुने सडक सुधारको काम पहिलो चरणमा गरिएको बताए । “योजना छनौट गर्दा स्थानीयको माग र घनावस्ती हेरेर योजना छानिएको हो”, उनले भने, “चक्रपथको अवधारणा पुरा गर्न सघाउने गरी सडक सञ्जाल विस्तार गरिएको छ ।” भरतपुर ६, ८, ९, १३, १६ र १७ मा स्तरोन्नती गरिएका अधिकांस सडक चक्रपथ निर्माणलाई सघाउने गरी बनेको बताए । “सरकारी बजेटमै सबै सडक स्तरोन्नती गर्न सकिएन”, उनले भने, “स्थानीयले आफै रकम थपेर बाटो विस्तारमा सघाएका छन् ।” घिमिरे मार्फत चितवन क्षेत्र नम्बर ४ मा छनौट परेका २५ योजनामा ८० लाख १० हजार ९ सय ८८ रुपैयाँ जनसहभागिता भएको छ । सुधार गरिएका सडकले २० हजार ३ सय ४० जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ । जिल्ला समन्वय समिति चितवनका योजना अधिकृत प्रकाशचन्द्र पौडेलले निर्माण सकिएका योजनाको अनुगमन गरेपछि मात्रै भुक्तानी गरिने बताए । “निर्वाचन क्षेत्र लक्षित योजना धमाधम सम्पन्न हुने क्रममा छन्”, उनले भने, “निश्चित समयमा सम्पन्न नभएमा भुक्तानी रोकिने छन् । चितवन क्षेत्र नम्बर ४ मा परेका संसद विकास योजना हेर्ने फोकल पर्सन जिल्ला समन्वय समितिका योजना अधिकृत टिकाराम कंडेलले शुक्रबार १० वटा योजनाको अनुगमन गरिएको जानकारी दिए ।