भरतपुर,३ असार ।
ग्लोबल मेट्रो सिटि बस प्रा.लिका मजदुर आन्दोलित बनेका छन् । सेवा सुविधामा भारी कटौती गरिएपछि उनीहरु आन्दोलित बनेका छन् । काम गर्ने अवधि बढाएर थप सेवा कटौती गरेपछि उनीहरुले शुक्रबार भरतपुर, नारायणगढ क्षेत्रमा चल्नै सिटि बस सञ्चालननै गरेनन् ।
चालकले ४ सय रुपैयाँ, सहचालकले २ सय रुपैयाँ भत्ता दैनिक पाउने गरेका थिए । यस्तै खाजा तथा खानाका लागि १ सय ४० रुपैयाँ पाउने गर्दथे । तर, सञ्चालकले दैनिक १३ घण्टा काम गर्नुपर्ने शत राख्दै तलबमा १ हजार वृद्धि गरेर खाना खाजाको सेवा कटौती गरिदिएका छन् । सिटि बसका चालक कृष्ण तामाङले सेवा सुविधामा भारी कटौती गरेर काम गर्ने अवधि बढाएपछि काम गर्न नसक्ने अवस्था सृजना भएको बताए । “न्यून तलबमा दैनिक १२ घण्टा काम गरेका थियौँ”, उनले भने, “मजदुरसँग छलफलनै नगरी एकैपटक सेवा सुविधा कटौती गरेको जानकारी आयो, हामी आन्दोलित बनेका हौँ ।”
उनले बसका अध्यक्षले काम गर्न नसक्ने जानकारी गराउँदा काम छाड्न सक्ने भन्दै धम्कि दिएको गुनासो गरे । केन्द्रीय बस ट्रमिनल भरतपुरमा बस थन्काएका उनीहरुले विना कारण सेवा कटौती गरेर श्रमशोषण गरेको आरोप लगाए । २५ वटा बस मध्ये एउटा बस मर्मतका ग्यारेजमा छ । पत्रकार सम्मेलनमा ३२ जना चालक तथा सहचालकले काम गर्न नसक्ने जनाउदै गुनासो पाखेका छन् । चालक मेघराज तामाङले आफुहरुले तलब तथा सेवा बढाउन माग नगरेको बताए । “हामी सेवा सुविधा बढाउ भनेका छैनौँ”, उनले भने, “पुरानै तलब दिए हुन्छ, तर मासिक १ हजार तलब बढाए जस्तो गरि झण्डै ४ हजार रुपैयाँ कम गराएर काम गर्न खोजिएको छ, यो स्वीकार योग्य छैन ।”
सहचालक स्वस्तीका ठकुरीले महिला सहचालक राखिएपनि राती अबेरसम्म काम गराउनु खोजिएको बताइन् । “विहान देखि रातीसम्म एउटै व्यक्ति खटिनुपर्छ”, उनले भनिन्, “फेरी १ घण्टा बढी काममा खटिनुपर्ने भयो, यो न्यायसँगत होइन ।” अर्की सहचालक अनु बरामले यात्रु कम भएपछि बसबाटै झरेर यात्रु खोज्न पटक पटक दबाब दिने गरेको बताइन् । “सुरुमा काम गर्दा बसबाट ओर्लनुपर्दैन भनियो”, उनले भनिन्, “अहिले बसबाटै झरेर भएपनि धेरै यात्रु खोज भन्न थालिएको छ, लगातार काम गराउने गरिएको छ ।”
श्रम ऐनमा ८ घण्टा बढी काममा लगाउन नपाइने उल्लेख छ । तर, सिटि बसका चालक तथा सहचालक दैनिक १२ घण्टा खटिदै आएका छन् । चालक अगम प्रसाद सापकोटाले सिटि बस सञ्चालकले एकतर्फि रुपमा बिहीबार साँझ सेवा सुविधा कटौती गरेपछि सबैले एकैसाथ काम छाड्ने तयारी गरेको बताए । सिटि बस सञ्चालकले शनिबार बिहान आन्दोलित मजदुरलाई छलफलका लागि बोलाएको छ । सिटि बस गत मंसीरदेखि सञ्चालनमा आएका थिए ।