राजेश घिमिरे
भरतपुर, १० चैत
कोरोना भाइरस(कोभिड १९)को विश्वव्यापी महामारीसँगै नेपालमा पनि ‘लकडाउन’को चर्चा सुरु भयो । नेपाली भाषामा ‘तालाबन्दी’ अर्थ राख्ने यो शब्दको बारेमा कमैलाई थाहा थियो । कोरोनाको महामारीसँगै विश्वभरका गतिविधिलाई नियालेका जनताको मुखमा अहिले यो शब्द झुण्डिन थालेको छ ।
सामाजिक सञ्जाल देखि चिया पसल र चौतारोमा लक डाउनको चर्चा चल्ने गर्छन् । केही दिन अघिसम्म यो शब्दै नसुनेकाहरुको अहिले चर्चा गर्ने विषय बनेको छ ‘सरकारले लकडाउन गर्नमा किन ढिलाई ग¥यो ?’ (आजबाट यो निर्णय लागू पनि भयो) देशको विषम परिस्थितिका कारण निश्चित समयका लागि सम्पूर्ण काम काज बन्द गरेर घर भित्रै रहनुपर्ने अवस्थालाई ‘लकडाउन’ भन्ने गरिन्छ । तर यो कर्फ्यू भन्दा अलग हो । कोरोना भाइरसले निम्त्याउन सक्ने संभावित जोखिमलाई कम गर्न विभिन्न देशहरुमा यो निर्णय लिइएको छ । नेपालमा पनि निर्णय भयो ।
केही दिन अघि सीमा नाका बन्द गरेर बोर्डर लकडाउन गरेको सरकारले हिजो एक हप्ताका लागि देश पुरै लकडाउन गरिने घोषणा गर्यो । यससँगै अहिले चर्चाको विषय बनेको छ ‘ओपीडी लकडाउन’ । विशेषगरिकन स्वास्थ्यकर्मीको माझमा । नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा.अनिलबिक्रम कार्कीले फेसबूकमा लेखे, ‘सबैको सुरक्षाको लागि अस्पतालको बाटो बिर्सन अनुरोध गर्दछु । लक डाउन बोर्डर, लक डाउन ओपीडी ।’ धेरै स्वास्थ्यकर्मीहरुले यसमा प्रतिकृया जनाउँदै डा.कार्कीको भनाईको समर्थन गरेका छन् । उनीहरुले ओपीडी लक डाउन नगर्दा काम गर्न समस्या हुने भन्दै सरकारलाई दबाब दिनुपर्ने प्रतिकृया दिएका छन् ।
केहीले स्वास्थ्यकर्मीको सुरक्षा र ओपीडी लकडाउनको विषय यति गम्भीर विषय भएर पनि किन कसैको चासो नगएको होला भन्ने प्रतिकृया लेखेका छन् ।
यस विषयमा कायाकैरनले डा.कार्कीसँग चासो राख्यो । उनले ओपीडी लक डाउन अनिवार्य आवश्यकता रहेको भन्दै तीनवटा तर्क प्रस्तुत गरे ।
१. कोरोना भाइरसको महामारी विश्वव्यापीरुपमा फैलिरहेको समयमा नेपाल चोखो रहला भनेर सोच्नु हुँदैन । यसका लागि हामीले एउटा बिरामीले अर्को बिरामीलाई भेट्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।
२. कोरोनाको सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मी छन् । ओपीडीमा स्वास्थ्यकर्मीले दैनिक सयौं व्यक्तिको स्वास्थ्य जाँच गर्नुपर्छ । तर आफूकहाँ आउने बिरामी कोरोना संक्रमित छ कि छैन भन्ने विषयमा स्वास्थ्यकर्मीलाई सुरुमै थाहा हुँदैन । बिरामीले भाइरस सबैभन्दा पहिले डाक्टरलाई सारेर जान्छ ।
३. घोषणा गरिएपनि नगरिएपनि नेपाल अहिले स्वास्थ्य संकटकालको अवस्थामा छ । यो अवस्था निम्त्याएको कारोना भाइरसले हो । त्यसैले हाम्रो सम्पूर्ण ध्यान कोरोना भाइरसको संक्रमण हुन नदिने र भएकालाई बचाउनेमा केन्द्रित हुनुपर्छ । ओपीडी केही समय बन्द गर्दा केही हुँदैन ।
डा. कार्कीले सोमबार सार्वजनिक भएको कारोना पोजेटिभको घटनालाई जोड्दै भने, “फ्रान्सबाट आएक ती छात्रामा कोरोना छ भन्ने चिकित्सकलाई अनुहार हेरेको भरमा थाहा हुँदैन नि । तर उनी जाँचका लागि ओपीडी पुगेको भए जचाउनेलाई पनि सर्ने थियो । यसबाट सबैभन्दा बढी जोखिममा हामी छौं ।” उनले इमरजेन्सी बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्नुपर्ने धारणा राखे ।
यो महामारीबाट बच्न व्यक्ति–व्यक्तिको बीचमा दूरी कायम गर्नु अत्यन्तै जरुरी रहेको उनले बताए । त्यसैले हामीले बिरामीका लागि हामी टेलिफोन देखि समाजिक सञ्जालहरुमा उपलब्ध हुन्छौं भनेका छौं । “सर्वसाधारणलाई आवश्यकपर्दा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामीले फोन र अन्य माध्यमबाट समस्या समाधान गर्न सकेको प्रयास गर्छौं ।” उनले स्वास्थ्यकर्मीको सुरक्षामा कन्जुस्याँई नगर्न सरकारलाई आग्रह गरे । “पीपीई, माक्स, पञ्जा जस्ता अति आवश्यक सामग्रीको उपलब्धता हाम्रो सर्त हो”, उनले भने, “यती भए हामी बिरामीको उपचारमा अहोरात्र खट्न तयार छौं ।” पीपीई(पर्सनल प्रोटेक्टीभ इक्विप्मेन्ट-सुरक्षाको दृष्टिले मजबुत प्रमाणित भएको कपडा) विश्व स्वास्थ संगठन (डब्लूएचओ)को मापदण्डमा तयार भएको कपडा हो ।