भरतपुर, १० चैत
कोरोना भाइरस संक्रमणबाट बच्न देशलाई नै क्वारेन्टाइनजस्तै बनाइएको छ । सबैजना आफ्नो घरभित्रै छन् । काम ठप्प छन् । पढाइ ठप्प छ ।
चैत ६ गतेबाट हुने भनिएको कक्षा १० को राष्ट्रिय परीक्षा एसईई पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ । जसले गर्दा एसईई तयारीमा लागेका लाखौं विद्यार्थी घरमै छन् । यो खाली समयमा घर बस्दा नपढेर पहिले पढेका सबै बिर्सिने समस्या पनि हुनसक्छ ।
यस्तो जोखिमबाट बचाउन नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटिभी प्लसले विद्यार्थीलाई पढाइरहेको छ । एनटिभी प्लसले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म एसईई दिने विद्यार्थीहरुलाई विभिन्न विषय पढाउँदै छ । विद्यार्थीहरु टिभी सेटअघि बसेर आफ्नो विषय पढ्न सक्नेछन् ।