विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२असार।
चितवनमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । बिहीबारदेखि कार्यक्रममार्फत सेवा लिन सदस्यता दर्ता सुरु भएको छ । वैशाखदेखि स्वास्थ्य बीमाका लागि सदस्यता दर्ता कार्य सुरु गरिने कार्यकतालिका रहेपनि पहिलो चरणको स्थानीय तहको चुनावले ढिलाइ भएको थियो । बिरामी पर्दा आर्थिक सुरक्षा दिन सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम ल्याइएको हो ।
चितवनमा १ सय ३५ जना दर्ता सहयोगी परिचालित भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सृजना पौडेलले जानकारी दिइन् । “घर घरमा पुगेर दर्ता फारम भर्ने काम सुरु भएको छ”, उनले भनिन्, “परिचयपत्रका आधारमा दर्ता हुनेछ, ।” तालिम प्राप्त दर्ता सहयोगीमार्फत संकलन भएका दर्ता फारम एकीकृत गरेपछि बल्ल बीमामार्फत सेवा लिन पाउने बताइन् । “दर्ता फारम भरेलगत्तै परिचयपत्र दिइन्छ”, उनले भनिन्, “एउटा परिवारले एकैपटक बीमा गराउन सक्छन् । तर, व्यक्तिअनुसा परिचयपत्र वितरण गर्छौं ।” ५ जनासम्मको परिवारले वार्षिक प्रति परिवार २ हजार ५ सय रुपैयाँ अग्रीम रकम बुझाउनुपर्छ । परिवारमा ५ जनाभन्दा बढी सदस्य भएकामा प्रति थप सदस्यको ४ सय २५ रुपैयाँ का दरले थप रकम तिर्नुपर्छ ।
५ जनासम्मको परिवारले आवश्यक पर्दा ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा बीमा मार्फत उपभोग गर्न पाउनेछन् । यस्तै ५ जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्य १० हजार बराबरको सुविधा थैलीमा जम्मा हुनेछ । अधिकतम १ लाख बराबरको स्वास्थ्य सेवा उपभोग गर्न पाउनेछन् । आवश्यक परेमा परिवारका एकै सदस्यले तोकिएको सबै सेवा सुविधाको उच्चतम् सीमाभित्र रहेर सेवा उपभोग गर्न सक्ने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमका लागि चितवन हेर्ने मुख्य कार्यालय भरतपुरस्थित पारिजात टोलमा छ । असारभित्र बीमा गर्नेले भदौ १ गतेबाट सेवा लिन सक्नेछन् । तीन–तीन महिनाभित्र संकलन गर्दै एकीकृत गरेपछि दुई महिनाभित्र बीमित परिवारले एक वर्षसम्म सेवा लिन सक्नेछन् । जिल्लास्तरमा दुई जना दर्ता अधिकारी रहेका छन् ।
अन्तरंग तथा बहिरंगसेवा, औषधि, प्रयोगशाला, शल्यक्रिया जस्ता सुविधामा बीमा वापतको रकम उपभोग गर्न सक्नेछन् । “सदस्यता लिने क्रममा रोजेको प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पतालबाट मात्रै बहिरंग सेवा लिन सकिने प्रावधान छ”, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका स्वास्थ्य बीमा कार्यक्रमका लागि सम्पर्क व्यक्ति अनुप अधिकारीले भने, “आकस्मिक सेवा जुनसुकै सूचिकृत अस्पतालबाट लिन सकिनेछ ।” उनका अनुसार बीमा गरेका परिवारले भरतपुर अस्पताल, रत्ननगर अस्पताल, बघौडा अस्पताल माडी, चितवन मेडीकल कलेजबाट सेवा लिन सक्नेछन् । शिवनगर, जुटपानी, खैरहनीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट बीमित परिवारले सेवा लिनेछन् ।
अन्यत्र जानुपरेमा वा नजिकको अस्पतालमा उपचार सम्भव नभएमा माथिल्ला सूचीकृत वा विशिष्टीकृत अस्पतालमा प्रेषणा पुर्जा (रिफरपत्र)का आधारमा सेवा लिन सक्नेछन् । पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, सांसद् कृष्णभक्त पोखरेल, सांसद् रामकृष्ण घिमिरे, सांसद् विष्णुमाया परियार, एमाले चितवनका उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काले स्वास्थ्य बीमा गरेर दर्ता सुरु गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति काठमाडौंका डा. भुवन पौडेलले बिहीबार चितवनसहित भक्तपुर, तनहुँ र जुम्लामा स्वास्थ्य बीमा सुरु भएको बताए । २०७२ चैत्र २५ गतेबाट कैलालीमा पहिलो पटक स्वास्थ्य बीमा सुरु भएको थियो ।
झण्डै एक वर्षपछि बाग्लुङ र इलाममा याृ कार्यक्रम सुरु भएको थियो । त्यस्तै कास्की, पाल्पा, अछाम, बैतडी, म्याग्दीमा कार्यक्रम चार महिना पहिले सुरु भएको थियो । जाजरकोट, मकवानपुर, र गोर्खामा असारभित्र स्वास्थ्य बीमा सुरु हुने जानकारी दिए । “सर्ने तथा नसर्ने रोग, नयाँ रोगको प्रकोप बढेको छ”, उनले भने, “सानो रकम जोहो गर्न नसक्ने जनतालाई बीमा कार्यक्रमले सघाउने छ ।” हालसम्म ८४ हजार घरपरिवारले स्वास्थ्य बीमा गरिसकेका छन् ।
सफल पार्न प्रतिबद्ध छौँःसांसद्हरु
चितवनका सांसद्हरुले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल पार्ने प्रतिबद्धता जनाएका छन् । भरतपुर अस्पतालमा आयोजित स्वास्थ्य बीमा दर्ता शुभारम्भ कार्यक्रममा बोल्दै सांसद्हरुले स्वास्थ्य बीमा कार्यक्रमलाई चितवन नमूना जिल्ला बनाउन लागिपर्ने बताए । बीमा गरेका बिरामी उपचार गर्दा हेलचेक्रार्इं गरेमा तुरुन्तै खबरदारी गर्नेछौँ”, सांसद् कृष्णभक्त पोखरेलले भने, “जनताको संवैधानिक अधिकार सुनिश्चित गराउन हामी लागिपर्नेछौँ ।”
सांसद् रामकृष्ण घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम सफल पार्न अनुरोध गरे । “आफूले उपचार लिदा आफैलाई सुविधा हुने, सेवा लिन नपर्दा उपचार दान गर्ने जस्तो काम हो”, उनले भने, “आर्थिक अभावमा उपचार सेवा लिनबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्न सहयोगी कार्यक्रम हो ।” उनले बीमा गर्न नसक्ने विपन्न परिवारलाई चाँडै गरिबीको परिचयपत्र बाँडेर यस्ता सेवा दिन घच्घच्याउने बताए ।