धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२असार।
रत्ननगर नगरपालिकामा अझै बालविवाहको आँकडा डरलाग्दो छ । बालमैत्री नगरोन्मुख भनिएपनि बितेको एक वर्षमा १ सय ४ जनाको बालविवाह भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
बालश्रमसम्बन्धी वर्तमान अवस्था र भावी योजना सन्दर्भमा रत्ननगर उद्योग वाणिज्य संघले जननिर्वाचित प्रतिनिधिसँग बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । बालविवाहको संख्याभन्दा तेब्बर बढी बालश्रमिक यही नगरपालिकामा छन् । युनिसेफ नेपालको सहयोगमा संघले रत्ननगर नगरपालिकाको सहकार्यमा बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
नगरपालिकाको वडा नम्वर ५ मा सबैभन्दा धेरै बालविवाह भएको छ । यहाँ २२ जनाको बालविवाह भएको रत्ननगर उद्योग वाािणज्य संघका सदस्य एवं बालसंरक्षण तथा बालश्रम यूनीकरण कार्यक्रमका सदस्य नीरज श्रेष्ठले जानकारी दिए । सो वडामा बाल विवाह धेरै रहेपनि बाल श्रमिक भने एकदम कम रहेको छ । यहाँ ५ जना मात्रै बालश्रमिक छन् । सबैभन्दा कम बाल विवाह भने रत्ननगर २ मा भएको छ । वडा नम्बर २ मा एकजनाको मात्रै बालविवाह भएको छ भने बालश्रमिक यहाँ उच्च छ । जहाँ १ जनाको मात्रै कम उमेर विहे भएको छ भने ५८ जना श्रमिक बालबालिका रहेको संघका सदस्य श्रेष्ठले बताए ।
“उमेर नपुगी बिहे गर्न हुन्न भन्ने कुरा सबैलाई थाहा छ”, तथ्यांक सार्वजनिक गर्दै संघका सदस्य श्रेष्ठले भने, “रत्ननगरजस्तो ठाउँमा यतिका संख्यामा बालविवाह हुनु निकै लज्जाको विषय हो ।” रत्ननगर–२, चितवनको दोस्रो बजार क्षेत्र भएकाले पनि यहाँ श्रमिक बालबालिका धेरै रहेका हुन् ।
यस्तै दोस्रो धेरै संख्यामा रत्ननगर–१३ मा बालविवाह भएकोमा जहाँ बालश्रमिक पनि धेरैनै छन् । १३ मा १६ जनाको बालविवाह भएको तथा ४८ जना बालश्रमिक छन् । रत्ननगर–९ मा १० जनाको बालविवाह हुनुका साथै १३ जना बालबालिका श्रममा होमिएका छन् । नगरका अन्य वडामा भने दोहोरो संख्यामा बालविवाह भएको छैन । २० वर्ष मुनिको उमेरलाई बालविवाह भनिन्छ ।
रत्ननगर उद्योग वाणिज्य संघले गत असोजदेखि ३ महिना लगाएर गरेको ‘बेसलाइन’ सर्वेक्षणमा गरिएको थियो । बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमलाई सघाउन पु¥याउने उद्देश्यका साथ बेसलाइन सर्वेक्षण गरिएको हो । रत्ननगरलाई सन् २०१७ भित्र बालश्रममुक्त र सन् २०१९ भित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले वालश्रम प्रयोग बारे निरन्तर खवरदारी आवश्यक रहने बताए । “नगरपालिकाले गर्नुपर्ने काम निजी संस्थाले गर्नु निकै प्रशंसनीय कार्य हो”, नगर प्रमुख वनले भने, “निजी संस्थाले गरेको काम अब हामीले ग्रहण गर्छौं, नगरलाई बालश्रममुक्त गर्न हामी निदाउने छैनौं ।”
नगर उपप्रमुख विमला दुवाडीले नगरमा बालविवाह उच्च रहनु गरीबी, चेतनाको अभावै मुख्य कारक रहेको बताइन् । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले नगरलाई बालश्रममुक्त बनाउन जननिर्वाचित प्रतिनिधिको भूमिका महत्वपूर्ण रहने बताए । सो अवसरमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरुले नगरलाई बालश्रममुक्त र बालमैत्री नगर बनाउने भनेर प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
संघका अध्यक्ष बिसुरालको अध्यक्षतामा भएको कार्यक्रममा युनिसेफ नेपाल क्षेत्रीय कार्यालय भरतपुरका बोधनारायण श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष दिपक कर्मचार्य, बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका व्यवस्थापक रोजिना श्रेष्ठ लगायत वडाध्यक्षहरुले मन्तव्य राखेका थिए । बालश्रमविरुद्ध विश्व दिवसको अवसरमा संघले यसअघि दुई दिन चेतनामूलक माइकिङसमेत गरेको थियो ।