भरतपुर, ८ चैत
विश्वभरी कोरोना भाइरसको महामारी फैलिदै गएको छ । सबैको ध्यान त्यतै केन्द्रीत छ । तर, गर्मी बढ्न थालेसँगै वन आसपासका क्षेत्रमा भने कोरोना भाइरससँगै डडेलोको चिन्ता पनि बढ्न थालेको छ । यसै सन्दर्भमा इच्छाकामना–७ सिमलढापमा शनिबार ‘जलवायु परिवर्तन अनुकुलन तालिम’ चलाइयो । यहाँ कोरोनाको चर्चा भएन । तर, डढेलो, चोरी निकासी नियन्त्रणबारे चर्चा भए ।
डिभिजन वन कार्यालय चितवनले आयोजना गरेको जनचेतना तालिममा १८ जना सहभागि भए । हरिपुर सब डिभिजन वन कार्यालय मातहतका १७ सामुदायीक वन मध्ये ६ वटा सामुदायिक वनका प्रतिनिधि, वडाध्यक्ष, वडासदस्यहरु सहभागि थिए । सहायक वन अधिकृत बालकृष्ण खनाल, रेञ्जर सुजित लामा गोले, अमृता दर्जीले तालिममा सहजीकरण गरे । “महामारीको त्रास फैलिरहेका बेला हामीले जलवायु अनुकूलन तालिम चलाउनु रहर थिएन”, सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खनालले भने, “तर, डढेलोको जोखिम छ, त्यसको पूर्वतयारी गर्नुपर्ने देखेरै तालिम गरेका हौँ ।” इच्छाकामना–७ मा रानीखोला, कालिका–पिपलटार, सोमरी, चण्डीस्थान, तीनकन्या, कालीखोला–देउराली सामुदायकी वन छन् ।
यी वन सालको काठका लागि परिचित छन् । हिउँदयाममा पात झर्ने, सुक्ने हुन्छ । डढेलो फैलिने जोखिम रहन्छ । “अग्नी रेखा सरसफाई गर्ने काम भएका छन्”, उनले भने, “डढेलो नियन्त्रणका लागि कार्यदल पनि छ, त्यसलाई पूर्वतयारी गराएका छौँ ।” उनले डढेलो लागेमा निभाउने विधि, फैलन नदिने उपाय, सावधानिका तरिकाबारे स्थानीयलाई जानकारी दिने काम भएको बताए ।
योबेला सबैको ध्यान कोरोना भाइरसतिर केन्द्रीत भएको मौका छोपेर काठ तस्करी समेत बढ्ने भएकाले निगरानी र खबरदारी समेत बढाइएको बताए । पछिल्ला केही दिनमा काठ तस्करीमा संलग्न ५ जना विरुद्ध मुद्धा हालिएको छ । बोलेरो जीप सहित पक्राउ गरिएको थियो । सिमलढाप क्षेत्रका वनबाट अधिकाँस काठ पदमपुर क्षेत्रमा अवैद्ध रुपमा निकासी हुदै आएको थियो ।