१ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सार्न निर्वाचन आयोगले अस्वीकार गरेको छ । विहिबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा आयोगले निर्वाचन सार्न अस्विकार गरेको हो ।
राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेको निर्वाचन बोथोल्नेगरी आन्दोलनमा थालेपछि सरकारले दुई नम्बर प्रदेशसहित तराईका केही जिल्लामा चुनाव सार्ने प्रस्ताव निर्वाचन आयोगसमक्ष गरेको थियो । तर, निर्वाचन आयोगले असार १४ को निर्वाचनको सम्पूर्ण तयारी सकिएको भन्दै निर्वाचन सार्न अस्विकार गरेको हो ।
निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले आयोग निर्वाचन सार्न पक्षमा नरहेको भन्दै तोकिएकै मितिमा निर्वाचन हुने बताए । उनले तोकिएकै मितिमा सहज ढंगले चुनाव हुने विश्वास व्यक्त गरे । समस्या भएका ठाँउमा सरकारले सुरक्षा व्यवस्था मिलाउने उनको भनाई थियो ।
निर्वाचन आयोगसँग छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री जनार्दन शर्मा, नेताहरु नारायाणकाजी श्रेष्ठ, विमलेन्द्र निधिलगायतको उपस्थिति रहेको थियो ।