शिव गौतम,
भरतपुर, चैत्र ४
विश्वव्यापी महामारीको रूप लिइरहेको नोबल कोरोना भाइरस – २०१९ का संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकामा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ ।
महानगर प्रमुख रेणु दाहालको संयोजकत्वमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि गठन गरिएको कार्यदलले चितवन उद्योग संघ भरतपुरको परिसरमा रहेको प्रर्दशनी केन्द्रलाई भरतपुर कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो । ७२ घण्टा पछि पूर्णरूपमा सञ्चालनमा ल्याइने बताइएको सो अस्पतालमा १० आइसीयू, १० हाइ डिपेन्डेन्ट यूनिट र ५० वटा जेनरल गरी कूल ७० वटा वेड रहनेछन् ।
अस्पताल पूर्ण रूपले तयार हुनका लागि आवश्यक पर्ने उपकरण तथा सामग्री भने महानगरपालिका, उद्योग संघ, उद्योग वाणिज्य संघ, लगायतले उपलब्ध गराउने बताइएको छ । महानगरका विभिन्न अस्पतालहरूमा स्क्रिनिङ गराउँदा कोरोना भाइरसको आशंका गरिएका बिरामीहरूलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालमा पठाइने बताइएको छ ।
त्यस्तै सबै अस्पतालहरूलाई आफ्नै आइसोलेसन वार्ड खडा गरी उपचार प्रदान गर्न पनि कार्यदलले निर्देशन दिएको छ । कोरोना संक्रमित व्यक्तिको उपचारका क्रममा सहजता होस् भन्नका लागि कार्यदलले चिकित्सकहरूको पनि कार्यविभाजन गरेको छ । कार्यदलका अनुसार चिकित्सकद्वय डा. भोजराज अधिकारी र अनिल विक्रम कार्कीले कोरोना विशेष अस्पतालमा ओपिडी विभाग हेर्नेछन् ।
त्यस्तै जेनरल वार्डमा डा. विजय चन्द्र आचार्यलाई खटाइएको छ । हाइ डिपेन्डेन्ट यूनिटमा भने पुरानो मेडिकल कलेज र एसोसिएसन अफ प्राइभेट हस्पिटल अफ नेपालका चिकित्सकहरूले बिरामीको उपचार गर्ने जनाइएको छ ।
त्यस्तै, चितवन मेडिकल कलेज शिक्षण अस्पताल आइसीयू कक्षका बिरामीहरूको उपचारमा खटिने बताइएको छ । अस्पतालमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन भने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले गर्नेछन् ।
भरतपुर विमानस्थल हुँदै आवतजावत गर्ने यात्रुहरू तथा विभिन्न स्थानीय तहका वडाका मानिसहरूको स्क्रिनिङ टेष्ट गर्ने जिम्मा भने जिल्ला स्वस्थ्य कार्यालयलाई दिइएको छ । कोरोना भाइरसको नमूना परीक्षण टेकूस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुने गरेकोमा भरतपुरमै नमूना परीक्षण गर्न मिल्ने व्यवस्था गराइदिन पनि कार्यदलका सदस्यहरूले मेयर रेणु दाहालसमक्ष आग्रह गरेका छन् ।