भरतपुर, ४ चैत
केरोना भाइरस ‘कोभिड १९’को जोखिमलाई मध्यनजर गर्दै चितवनमा क्वारेन्टाइन क्षेत्रको खोजी सुरु भएको छ । हाल भरतपुर अस्पतालमा १९ शैयाको ‘आइसोलेसन वार्ड’ छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाइन क्षेत्र नै तोक्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
उनका अनुसार शैयाको क्षमता बढाएर कम्तीमा ७५ वटा पु¥याउने तयारी भइरहेको छ । भरतपुर अस्पतालको वार्डलाई २० शैयाको बनाएर चितवन मेडिकल कलेज तथा पुरानो मेडिकल कलेजमा २०/२० शैयाको ‘आइसोलेसन वार्ड’ बनाउन लगाउने तयारी छ । अन्य अस्पताललाई २ देखि ५ वटासम्म शैयाको वार्ड तयार गर्न भनिएको छ ।
रोगले महामारीको अवस्था लियो भने ‘आइसोलेसन वार्ड’ले मात्रै नधान्ने भन्दै प्रशासनले कुनै निश्चित ठाउँलाई ‘आइसोलेसन क्षेत्र’ भनेर छुट्याउने तयारी गरिरहेको छ । सोमबार जिल्लाका स्वास्थ्यकर्मीहरुसँगको छलफलको क्रममा सीडीओ भट्टराईले त्यस्तो क्षेत्रको विषयमा धारणा मागेका थिए ।
हाल चितवन उद्योग संघले सञ्चालन गर्दै आएको चितवन एक्सपो सेन्टरलाई क्वारेन्टाइन क्षेत्र बनाउन उपयुक्त हुने राय आएको भट्टराईले बताए ।
मंगलबार भरतपुर महानगरपालिकाको संयोजनमा एक्सपो सेन्टरलाई क्वारेन्टाइन क्षेत्र बनाउने विषयमा छलफल गर्ने तयारी छ ।