सुविधासम्पन्न बेलायतको लन्डन शहरमा मंगलबार आगलागी हुँदा बेलैमा निभाउन सकिएन । २४ तले ग्रेनफेल टावर अपार्टमेन्टमा आगलागी हुँदा निकै सुविधासम्पन्न दर्जनौं दमकल तथा तालिम प्राप्त जनशक्ति परिचालन गर्दा पनि कयौं घन्टासम्म आगो निभाउन सकिएन । आगलागी भएको घन्टौं बितिसक्दा पनि आगो निभाउन र भवनमा फसेकाको उद्धार गर्न लन्डनका अग्निनियन्त्रकलाई हम्मे परेको थियो । हाम्रो मुलुकमा पनि पछिल्लो समयमा यस्तै निकै अग्ला भवनहरु बन्ने क्रम बढेर गएको छ । तर, कारणवश यस्तै आगोलागी भइहाल्यो भने यसले ठूलो क्षति गराउनेवाला छ । यहाँ आगो निभाएर क्षति न्यूनीकरण गर्ने सुविधा छैन र आवश्यक जनशक्ति पनि छैन ।
४० वटा अत्याधुनिक दमकल र अग्नि नियन्त्रण तथा उद्धार उपकरणले सुसज्जित तालिम प्राप्त फायर फाइटर परिचालित भएपनि आशातीत सफलता पाउन सकिएन । लन्डनमा भवन जलिरहेको तस्बिर र भिडियो अनलाइनमा हेर्दा पनि मन नै झसंग हुनेखालका छन् । हाम्रोमा पनि यस्तै आगलागी भयो भने हामी कसरी जोगिने होला ? यही पिरले सताएको छ यतिबेला । देशका मुख्य शहरहरुमा पछिल्लो समय अपार्टमेन्ट बन्ने क्रम बढ्दो छ । २०७२ वैशाख १२ को भूकम्पपछि मानिसहरूमा अग्ला घरप्रति मोह घटेपनि जीवनशैली जस्तै बनिसकेकाले धेरै जना अहिले पनि अपार्टमेन्टमै छन् । चितवनमा पनि १२ तलासम्मको भवन बनिरहेका छन् । तर, बनिसकेका वा बनिरहेका ती अग्ला भवन आगलागीबाट सुरक्षित छैनन् । ती भवनमा आगलागी भइहालेमा आगो नियन्त्रण गर्ने र उद्धार गर्ने हाम्रो क्षमता पर्याप्त छैन । नेपालमा बनेका र बन्ने क्रममा रहेका बहुतले अपार्टमेन्टमा नियमानुसारको अग्नि नियन्त्रण तथा उद्धारको लागि आवश्यक पर्ने औैजार उपकरणको व्यवस्था गरिएको पाइदैन । कतिपयले त्यस्ता औजार र उपकरण राखेकै छैनन् । राखेकाहरूले पनि झारा टार्न राखेका जस्तो देखिन्छ। यस्तो अवस्थालाई सरकारले पनि अनुगमन गरेर सुधार गर्नेतर्फ चासो देखाएको छैन ।
अग्ला अपार्टमेन्टमा आगलागी भइहाल्यो भने निभाउनका लागि पानीको व्यवस्था हुनुपर्छ । यो अन्तर्राष्ट्रिय मापदण्ड नै हो । हरेक अपार्टमेन्टले जमिनमा आगलागी हुँदा काम लाग्ने पानी ट्यांकी बनाएर राखेको हुनुपर्छ । त्यो पानी हरेक तलामा तान्ने सक्ने व्यवस्था पनि गरेको हुनुपर्छ । आगलागी भइसकेपछि भवनको बिजुली सट गर्नुपर्ने भएकाले पानी तान्नका लागि छुट्टै डिजेल पम्प तयारी हालतमा हुनुपर्छ । अपार्टमेन्टसम्म दमकल पुग्ने बाटो हुनुपर्छ । बाटोमात्र भएर पुग्दैन अग्लो ठाउँमा आगो नियन्त्रण गर्न चाहिने ठाउँ पनि हुनुपर्छ । दमकल राख्ने, फायर फाइटर जाने, पाइप लैजाने गर्नुपर्ने भएकाले वरिपरि तार हुनु हुँदैन । तर, हाम्रो मुलुकमा यस्ता कुरा मापदण्डमा त छन् तर धेरै अपार्टमेन्टले कार्यान्वयन गरेका छैनन्। यसले गर्दा यस्तै आगलागीको विपद् आइलाग्यो भने निकै क्षति व्यहोर्नुपर्ने अवस्था छ । यतातिर पनि सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ ।
क्षति घटाउन कम ध्यान
क्षति घटाउन कम ध्यान
तपाईको प्रतिक्रिया