भरतपुर,१ असार ।
चितवनको कालिका नगरपालिका–४ स्थित शक्तिखोरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण सापकोटा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृृष्णप्रसाद अधिकारी, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतको टोलीले औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरेको हो ।
चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीको संयोजकत्वमा भएको अवलोकन कार्यक्रममा उपस्थित सबैले औद्योगिक क्षेत्रको बारेमा जानकारी लिएका थिए । औद्योगिक क्षेत्र निर्माण थालेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण सापकोटाले औद्योगिक क्षेत्र निर्माण प्रक्रिया बारे जानकारी गराएका थिए । औद्योगिक क्षेत्र अवलोकन टोली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कालिका नगरपालिकास्थित उपरदङगढीमा बास बसेको थियो । चितवनको पुरानो सदरमुकामको रुपमा रहेको गढीको बारेमा समेत उनीहरुले अवलोकन गरेका थिए ।
सरकारले गतवर्षको अन्त्यतिर शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेपछि निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शक्तिखोरमा रहेको २ हजार विघा क्षेत्रफल जमीनमा औद्योगिक क्षेत्र बनाउन प्रक्रिया अघि बढाएको थियो । अहिले सो क्षेत्रमा कार्यालय स्थापना गरी काम अघि बढाइएको छ ।