रत्ननगर,१ असार ।
पर्यटकको आकर्षण बढ्दै गइरहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले खैरहनी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ ।
बुधबार वनको हात्ती काउन्टरमा निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत अभिनय पाठक, बुढीराप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमल्सिना र वनका अध्यक्ष हिराबहादुर गुरुङले स्वागत तथा सम्मान गरे ।
सो अवसरमा वोल्दै नगर प्रमुख लालमणी चौधरीले वार्षिक रुपमा सौराहा आउने २ लाख पर्यटकमध्ये २० प्रतिशत कुमरोज सामुदायिक वनमा ल्याउन सके यहाँको स्थानीयको आयआर्जनमा वृद्धि हुनुका साथै पर्यटन प्रवद्र्धन हुने बताए । समग्र खैरहनीको विकासमा सामुदायिक वनको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नगर प्रमुख चौधरीले पर्यटन विकासका लागि योजना बनाएर नगरपालिकामा आउन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि सहायक संरक्षण अधिकृत अभिनय पाठकले मानव र वन्यजन्तुबीच रहेको असमझदारी न्यूनीकरण गर्न एकद्धार प्रणालीमार्फत कार्यक्रम गर्न आवश्यक रहेको औंल्याए ।
बूढीराप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमल्सिनाले नगरको दक्षिण भेगमा रहेको साविक कुमरोज र कठार गाविस कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले विकास आवश्यक रहेको बताए । कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङले वनमा आन्तरिक तथा वाह्य पर्यटक भि¥याउन पर्यटन गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिए । वनका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मुनेश्वरलाल चौधरी, सचिव कल्याण लटौलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रमपछि निर्वाचित जनप्रतिनिधिलाई जीप सफारीसमेत गराइएको थियो । वनका कार्यालय सचिव भरतप्रसाद नेपालका अनुसार कुमरोज सामुदायिक वनले जीप सफारी, हात्ती सफारी, डुँगा सयरलगायतबाट आम्दानी गर्दै आएको छ ।