धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१ असार ।
चितवनमा केराखेतीतर्फ आकर्षण बढ्दै गएपनि वर्सेनि आउने हावाहुरीका कारण यहाँका किसानले करोडौंको घाटा व्यहोर्दै आएका छन् । बुधबार बिहान पानीसँगै आएको हावाहुरीले पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित चैनपुर र रत्ननगरस्थित पिठुवामा करोडौंको क्षति भएको छ । क्षतिबारे पूर्ण विवरण नआएपनि करिब ५ करोडको क्षति अनुमान चितवन केरा उत्पादक संघको छ ।
हावाहुरीले चैनपुरमा ६५ प्रतिशत र पिठुवामा ३५ प्रतिशत क्षति पु¥याएको छ । क्षतिबाट करिब १ लाख केराको बोट नष्ट भएको छ । “चैनपुर र पिठुवामा ठूलो क्षति छ”, संघका अध्यक्ष विष्णुहरि पन्तले भने, “करिब ५ करोड बराबरको क्षति भएको अनुमान छ ।” हावाहुरीले सबैभन्दा धेरै संघका निवर्तमान अध्यक्ष यज्ञप्रसाद सुवेदीको केरा वगानमा क्षति पु¥याएको छ ।
चैनपुरमा २० विघा जग्गामा लगाएको केरा पूर्णरुपमा नष्ट भएको सुवेदीले जानकारी दिए । केरा व्यवसायबाट राम्रै आम्दानी गर्दै आएका उनी हावाहुरीले क्षति पु¥याएपछि चिन्तित छन् । “हावाहुरीले मुखमै आएको खेती नष्ट गरिदियो”, केरा किसान सुवेदीले भने, “आधा घण्टामै ७० लाख बरावरको क्षति भयो ।” २० विघामा करिब १४ हजार ५ सय बोट पूर्णरुपमा क्षति भएको उनले बताए । सुवेदीले बीसैै विघाको बीमा भने गरेका छन् । उनले चैनपुरमा लगाएको २० विघाकै बीमा गरेका छन् । बीमाका कारण उनलाई केही राहत मिल्नेछ ।
हावाहुरी तथा प्राकृतिक विपद्का कारण वर्सेनि करोडौंको क्षति व्यहोर्दै आएपछि संघले बीमाका लागि पहल गरेपछि चितवनमा केराखेतीको समेत बीमा गरिएको छ । चितवन र नवलपरासीमा उनले ५० विघामा केराखेती गरेका छन् । त्यस्तै चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले चैनपुरमा लगाएको करिब १० विघा क्षेत्रफलको केरा नष्ट भएको छ । सो क्षेत्रफलमा करिब १० हजार केराको बोट लगाइएको थियो । १० विघामा ९५ प्रतिशत क्षति भएको अध्यक्ष पन्तले बताए । उनले पनि चैनपुरमा लगाएको १० विघाकै बीमा गरेका छन् ।
“खेती गरेर खानेलाई किसानलाई कतैबाट फाइदा छैन”, हावाहुरीपछि केराखेतीमा क्षति पु¥याएपछि वगानमा भेटिएका संघका अध्यक्ष पन्तले भने, “वर्षभरिको दुःख क्षणभरमै नष्ट भयो, मन दुखेको कुरा व्यक्त गर्न सकिएको छैन ।” पन्तले रत्ननगर, चैनपुर र जगतपुरमा करिब ३० विघा जग्गामा केराखेती गरेका छन् ।
यसैगरी चैनपुरमै नवराज धितालको ३ हजार बोटमा पनि क्षति पुगेको छ । त्यस्तै रत्ननगरको पिठुवामा ठाकुर सापकोटाको ६ विघा र कमल थापाको ७ विघामा लगाएको केरा पूर्णरुपमा क्षति भएको संघका अध्यक्ष पन्तले बताए । चितवनमा करिब २ हजार ६ सय ५० विघा जग्गामा ६ सय ३० जना किसानले केराखेती गरेका छन् । चितवनमा वार्षिक ४७ हजार मेट्रिक टन केरा उत्पादन तथा १ अर्ब बराबरको कारोबार हुँदै आएको छ । चितवनलाई केराखेतीको राजधानीको रुपमा समेत लिइन्छ । यहाँ उत्पादन भएका केरा काठमाडौं, पोखरा, बुटवललगायत शहरमा समेत पुग्ने गरेको छ ।