भरतपुर । बागमती प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयले दुग्ध उत्पादनका आधारमा किसानलाई दिँदै आएको अनुदानमा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिलिटर २५ पैसाका दरले अनुदान दिएको प्रदेशले अब प्रतिलिटर १ रुपैयाँका दरले किसानलाई अनुदान प्रदान गर्ने भएको हो । हालसम्म चितवन जिल्लाका ८४ वटा दुग्ध उत्पादक संस्थाहरूले अनुदान प्राप्तिका लागि प्रक्रिया पूरा गरिसकेका छन् । बाँकी रहेका संस्थाहरूका लागि फेरि सूचना निकालेर मापदण्ड पूरा गरी प्रक्रियामा आउन आह्वान गरिने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका जिल्ला सचिव किशोर बगाले बताए ।
दुग्ध सहकारी संस्थाहरूले अडिट प्रतिवेदन पूरा गरी बुझएपछि मात्रै प्रक्रियामा सामेल हुन पाउने बगालेले उल्लेख गरे । संघमा आबद्ध रहेका चितवनका दुग्ध उत्पादकहरूको संख्या भने १०८ रहेको छ । संघका अनुसार जिल्लामा सबैभन्दा बढी अनुदान भण्डाराको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले प्राप्त गर्ने भएको छ । उसले प्राप्त गर्ने अनुदान करिब ३२ लाख रुपैयाँ हुने संघले जनाएको छ । त्यस्तै दूध उत्पादनका आधारमा भरतपुर महानगरपालिका भित्र सबैभन्दा बढी अनुदान अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले पाउने बगालेले जानकारी दिए । हाल चितवन जिल्लामा मात्रै दैनिक ३ लाख लिटर दूध उत्पादन हुँदै आएको छ ।