अबको केही समयमा मनसुन सक्रिय हुनेवाला छ । मनसुन सुरु हुनैलाग्दा पनि चितवनमा विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना बनाउन सकिएको छैन । विपद् भन्ने कुरा कहिल्यै पनि बाजा बजाएर आउँदैन र यसले पूर्वजानकारी पनि दिदैन । त्यसकारणले अपर्झट आउने विपद्बाट कमभन्दा कम क्षति व्यहोर्नका लागि तयारी अवस्थामा रहन आवश्यक छ । जिल्लामा उपलब्ध स्रोत साधनको आँकलन गरी विपद्को पूर्वतयारी गर्न बनाइने ‘प्रतिकार्ययोजना’ हालसम्म बन्न सकेको छैन ।
जिल्लाको विपद् जोखिम नक्सांकन गरी प्रतिकार्यका लागि पूर्वतयारी गरिदै आएकोमा यो वर्ष काम अघि बढ्न सकेको छैन । विपद् व्यवस्थापन उद्धारमा स्थानीय समितिसँग समन्वय गर्ने, राहत तथा उद्धार कार्य प्रभावकारी बनाउने काममा विपद् व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण मानिन्छ । भरतपुर महानगरपालिकाको दुई वडाबाहेक जिल्लाका सबै तहमा निर्वाचित जनप्रतिनिधि आइपुगेका छन् । नगरपालिका, गाउँपालिकास्तरबाट पूर्वतयारीका काम थाल्नसमेत जिल्लास्तरको समितिले आग्रह गरेको छैन । विगतका विपद्मा आर्थिक स्रोत अभाव, राहत वितरणमा यातायात साधनको अपर्याप्तता तथा जिल्लास्तरको समन्वय अभाव हुने गरेको छ । विपद् जोखिमका हिसाबले चितवन पनि अघिल्तिरै पर्छ । यहाँ कहिले त वर्सेनि, कहिले केही वर्ष अन्तरमा विपद्बाट ज्यान गुमाउनेहरु छन् । यहाँ विपद्मा पनि बाढीबाट ज्यान गुमाउनेहरु छन् । बाढीका कारण २०७१ मा ९ जना, २०७० मा ८ जना, २०६७ सालमा ३ जना, २०६६ मा ३ जना, २०६२ मा ६ जना, २०६१ मा ३ जना, २०६० मा १५ जना, २०५९ मा २४ जनाको ज्यान गुमाएका छन् । यहाँका नारायणी, राप्ती, रिउ, बाँदरमुढे, च्यात्राखोला, मगुई, कयरलगायतका नदी तटीय क्षेत्रका वस्ती वर्सेनि बाढीको उच्च जोखिममा छन् ।
बाढी, पहिरो, भूकम्पको जोखिममा रहेका समुदायलाई लक्षित गरी विगतमा काम हुने गरेका थिए । क्षेत्रगतरुपमा पूर्वतयारी गर्न हालसम्म बैठक बसेको छैन । आपतकालीन अवस्थामा काम गर्न १० वटा उपसमिति बनाएर अघिल्लो वर्ष तयारी गरिएको थियो । पटक–पटक छलफल भएका थिए । यो वर्ष सबै गतिविधि शून्य छन् । विपद् परिहालेमा विपद् कार्यसञ्चालनका लागि आवश्यक बजेट सहयोग तथा सहकार्य गनेतर्फ स्थानीय प्रशासनले चासो दिन सकेको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्षका रुपमा प्रमुख जिल्ला अधिकारी छन् । समितिमा जिल्लास्तरीय कार्यालयका प्रमुख, रेडक्रस सोसाइटी, दलीय प्रतिनिधि लगायतका छन् । स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठनका काम समेत भएका छैनन् । विपद् पूर्वतयारीबारे निरन्तर छलफल, जोखिम न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमको तयारी, व्यवहारीक अभ्यास जस्ता काम यो वर्ष भएका छैनन् । वर्षायाम सुरु हुन लागेकाले बाढी, पहिरो जस्ता विपद् निम्तिन सक्छन् । हावाहुरी, आगलागी, महामारी, चट्याङ जस्ता विपद् आउने भएकाले जिल्लास्तरको पूर्वतयारी आवश्यक छ ।