भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले एम्बुलेन्स चालकलाई भेला गराएर ट्राफिक नियम सिकाएको छ । दमकल, एम्बुलेन्स बढी गतीमा कुद्छन् । बेलैमा गन्तव्य पुग्न ती सवारी तीव्र गतीमा जानुपर्ने बाध्यता हुन्छ । तर, विशेष सुविधा पाएको भन्दै नियम उल्लंघन गर्ने छुट भने हुदैन ।
“घाइते बोकेका एम्बुलेन्स तीव्र गतीकै कारण दुर्घटनामा परेका छन्”, चितवन ट्राफिक प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले भने, “सडकमा निस्केपछि सबैलाई हतार हुन्छ, नियम सबैले पालना गर्नुपर्छ ।” उनले एम्बुलेन्स चालक बढी संवेदनशील भएर सवारी चलाउनुपर्ने बताए । “बिरामीलाई अस्पताल पु¥याइदिने वा घरमै लिन जाने सवारीले लापरबाही गर्ने छुटनै छैन”, उनले भने, “विशेष सुविधा प्राप्त सवारी भनेर जे गर्न पनि पाइदैन ।” उनले एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी चलाउने, प्रयोजन विपरित चलाउने, बढी शुल्क लिने, जथाभावी पार्कीङ गर्ने, अनावश्यक साइरन बजाउने जस्ता गतिविधि हुने गरेका गुनासा आएको बताए । “अब निगरानी बढाउने छौँ, गल्ती गरेको भेटिए कारवाही गर्न सिफारिस गरिनेछ”, उनले भने, “एम्बुलेन्सप्रति विश्वास बढाउन जरुरी छ ।”
उनले सडकमा कुन सवारीलाई प्राथमिकता दिने भन्ने ज्ञान अधिकाँस चालकलाई नभएको पाइएको बताए । “साइरन बजाउँदै आउने सवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ”, उनले भने, “तर, चालकले वेवास्ता गर्ने गरेका छन्, अझ अनावश्यक साइरन बजाउने चलन पनि बढेको छ ।” चोकको गोल घुम्ती प्रवेश गरिसकेका, शाखा सडकबाट मुख्य सडकमा आउदा मुख्य सडकका, उकालो आउँदे गरेका सवारीलाई प्राथमिकता दिनुपर्ने बताए । भारी बोकेका, सानो गाडीले ठुलो गाडीलाई, राइट टन गर्न लागेका गाडीले सिधा जाने गाडीलाई, तीव्र गतीमा कुदेका गाडीलाई प्राथमिकता दिनुपर्छ । “सडक सबैका लागि हो, तर प्राथमिकता पहिचान नहुदा चालकनै अलमलमा पर्ने गरेको पाउँछौँ”, उनले भने, “सडकमा एम्बुलेन्स कुदेको छ, साइरन बजाएको छ, तर सजिलै पास हुन नपाउने अवस्था छ ।”
उनले १० वर्ष पुराना एम्बुलेन्स सञ्चालनमा रोक लगाउनुपर्ने बताए । “पार्टपुर्जानै कमजोर हुन्छन्, तीव्र गतीमा चल्दा जुनसुकै बेला दुर्घटना हुने खतरा हुन्छ”, उनले भने, “सकेसम्म पुराना एम्बुलेन्स नचलाउँ, १० वर्ष पहिलेका त चलाउँदै नचलाउँ ।” उनले एम्बुलेन्स चालकले समेत विना लाइसेन्स चलाउने गरेको पाइएको बताए । “एम्बुलेन्स सधै हतारमै हुन्छन् भनेर छुट पाउने अवस्था अब हुदैन”, उनले भने, “अरु सवारीलाई लाग्ने नियम एम्बुलेन्स, दमकललाई पनि लाग्छ ।” चितवन ट्राफिकका अनुसार यो माघसम्म ८४ जनाको ज्यान सवारी दुर्घटनाका कारण भएको छ । १ सय ९० सवारी दुर्घटनाहुँदा ३ सय ८५ जना घाइते भएका छन् । गत वर्ष १ सय ४६ जनाको ज्यान गएको थियो ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालक ट्राफिक नियम पालना गर्र्न प्रतिवद्ध रहेको दाबी गरे । “बिरामीको ज्यान बचाउनु हाम्रो पनि दायीत्व हो, छिटो अस्पताल लैजाने ‘प्रेसर’ हुन्छ”, उनले भने, “तीव्र गतीमा कुदेकै भरमा नियम मान्दैनन् भन्नुहुदैन, स्वयम् चालक आफ्नो जीवनबारे पनि सचेत छन् ।” उनले यो वर्षमात्रै एम्बुलेन्स चालकलाई २ पटक ट्राफिक प्रशिक्षण दिइएको बताए । “ट्राफिक ज्ञान लिनु राम्रो हो, सम्भावित जोखिमबाट बच्ने उपायको खोजी पनि हो”, उनले भने, “ट्राफिक नियमबारे अन्यौलत नरहोस् भनेरै सचेतना कार्यक्रममा सहभागि भएका हौँ ।” उनले १० वर्ष पुराना एम्बुलेन्स बन्द गराउँदैमा सेवा सुधार नहुने बताउँछन् । “विकल्पमा नयाँ ल्याउन अनुमति दिनुपर्छ, चाहेका संस्थाले सजिलै एम्बुलेन्स ल्याउने नीति हुनुपर्छ”, उनले भने, “पुराना भन्दै चलाउनै रोक लगाउने हो भने ७५ प्रतिशत सेवानै अवरुद्ध हुन पुग्छ ।”
अस्पतालमा पार्कीङ खै ?
संयुत्तः एम्बुलेन्स चालक संघ नेपाल चितवनले अस्पतालहरुमा एम्बुलेन्स पार्कीङको माग गरेको छ । चितवनका अध्यक्ष सुमन घलेले भरतपुर अस्पतालमा समेत उचित पार्कीङ नहुदा समस्या हुने गरेको बताए । “बिरामी पु¥याउन जादा समेत धपाउने काम हुन्छ”, उनले भने, “सहजै एम्बुलेन्स सेवा दिन तत्पर छौँ, तर अस्पतालनै उदासिन छ ।” उनले एम्बुलेन्स पार्कीङ भएमा बिरामीलाई सहजता हुने बताउँछन् । यो संघमा ८० वटा एम्बुलेन्स आवद्ध छन् । संघले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, जिल्ला ट्राफिक, जिसस, अस्पताल प्रशासन, राजनीतिक दलका चितवन स्थीत कार्यालयमा अनुरोधपत्र बुझाइसकेको छ ।
“गाउँबाट ल्याएका बिरामी अस्पताल पु¥याउन भित्रै जान नपाउने अवस्था बनाइदैछ”, केन्द्रीय अध्यक्ष नवराज लामिछानेले भने, “अस्पताल परिसरमा अन्य सवारीलाई पार्कीङ छ, तर एम्बुलेन्सलाई छैन ।” उनले चितवनका नीजि अस्पतालमा सामान्य पार्कीङ सुविधा भएपनि सरकारी अस्पतालमै नभएको बताए । “बिरामीलाई कुनै परीक्षणका लागि अर्को ठाउँ लैजान बढी शुल्क तिरेर अन्य साना गाडीमा जानुपर्ने बाध्यता छ”, उनले भने, “एम्बुलेन्स अस्पतालबाट निको भएर घर फर्किन चाहेका बिरामी कुरेरै बस्छन् भन्नु गलत हो ।”
उनले एम्बुलेन्सकै कारण बिरामीलाई गाउँगाउँदेखि छिटै अस्पताल ल्याउने काम भएको दाबी गरे । यही २० गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले अस्पताल परिसरभित्र एम्बुलेन्सको लाइन लगाएर पर्खेर बस्ने प्रवृत्ति हटाउन पहल गर्नेबारे छलफल भएको थियो ।