विद्यालय भनेको सिंगो समुदायको प्रतिनिधित्व हुने क्षेत्र हो । यहाँ हरेक घरका बालबालिका हुन्छन् । एकजनामा संक्रमण भयो भने तुरुन्तै विद्यालयका सबै बालबालिकामा प्रसार हुनसक्छ । उतीहरुले घरघरै लैजान्छन् र आजको भोलि समाजभरि हुन्छ ।
आगामी चैत ६ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । १० कक्षामा पढ्दै गरेका विद्यार्थी त्यसकै तयारीमा लागिरहेका छन् । ८ कक्षाका विद्यार्थीले पनि फागुन अन्तिम वा चैत पहिलो सातादेखि परीक्षा दिँदैछन् । यी दुईबाहेक सबै तहका परीक्षा पनि यही आसपास गरिँदैछन् । त्यसपछि लामो समय विद्यालय बन्द हुनेवाला छ । बिहीबार मात्रै खेलकुदका सबै कार्यक्रम स्थगित गर्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । अरु सबै सार्वजनिक कार्यक्रमहरुमा बन्देज लगाइएका छन् ।
चीनको हुवानबाट फैलिएको कोभिड १९ कोरोनाको प्रकोप विश्वव्यापीरुपमा फैलिन थालेपछि नेपालले पनि उच्च सतर्कता अपनाउने क्रममा यो स्थिति सिर्जना भएको हो । कोरोनाले चीनमा लगभग तीन हजार जनाको ज्यान लिइसकेको छ भने यसले ७७ बढी मुलुकमा असर गरिसकेको छ । नेपाल चीनको छिमेकी मुलुक हो । कोरोनाका सामान्य लक्षण नेपालीहरुमा देखिए पनि यसको डरलाग्दो असर अहिलेसम्म देखिएको छैन । तर, सजगता अपनाउनु सबैभन्दा ठूलो बुद्धिमानी हो ।
शिक्षा मन्त्रालयले सूचना निकालेर छिटोछरितो परीक्षा लिएर विद्यार्थीलाई छुट्टि दिने निर्णय गर्नु राम्रो पक्ष हो । अहिले फैलिएको कोरोनाको प्रकोपबाट बच्ने उपाय भनेको भीडभाडमा नजानु, पोषिलो र तातो झोलिलो कुरा खानु, सरसफाइमा ध्यान दिनु आदि हुन् । विषम परिस्थितिमा विद्यालय क्षेत्र पनि कोरोना प्रकोपको मुख्य क्षेत्र भएकोले विद्यालयमा छुट्टि दिनु सान्दर्भिक थियो । विद्यालय भनेको सिंगो समुदायको प्रतिनिधित्व हुने क्षेत्र हो । यहाँ हरेक घरका बालबालिका हुन्छन् । एकजनामा संक्रमण भयो भने तुरुन्तै विद्यालयका सबै बालबालिकामा प्रसार हुनसक्छ । उतीहरुले घरघरै लैजान्छन् र आजको भोलि समाजभरि हुन्छ ।
कतिपय विद्यालयमा पढ्नुपर्ने पूरा पाठ नसकिएको अवस्था छ । त्यसले गर्दा परीक्षा सार्दा अप्ठ्यारो परेको पनि होला । तर, अप्ठ्यारो परिस्थितिका कारण गरिएको व्यवस्थापनमा खरो उत्रनुपर्ने अवस्था छ । सबै विद्यालयले वार्षिक परीक्षाको लगभग अन्तिम तयारी गरिरहेका थिए । यो अवस्थामा परीक्षा साता–दश दिन सारेर अघि ल्याउनु सकारात्मक छ ।
अहिलेसम्म कोरोना डरलाग्दो गरी फैलिसकेको छैन । त्यसकारण अहिले नै विद्यालय बिदा गराउनुभन्दा बरु छिटोभन्दा छिटो परीक्षा गराएर एकैपटक बिदा गराउनु राम्रो हो । परीक्षा अलि पछि धकेलिएको भए विद्यार्थीहरुको पढ्ने वातावरण बिग्रनुका साथै पछि कैले परीक्षा गर्ने झन् अन्यौल हुन जान्थ्यो । कथंकदाचित अवस्था गम्भीर भइहालेमा सबै क्षेत्र बन्द गर्नुपर्ने अवस्था पनि आउनसक्छ । यस्तो बेलामा सबैले भाइचारा र संयमता अपनाउनु पर्दछ । जे भए पनि विकसित परिस्थितिलाई मध्यनजर गर्दै गरिएको यो निर्णयलाई हामी सबैले स्वागत गर्दै विद्यार्थीले शान्त र सहज वातावरणमा परीक्षा दिने वातावरण घरैबाट गराउनुपर्छ ।