यस्तो बेलामा देशको नेतृत्व अस्थायीरुपमा हस्तान्तरण गर्नुपथ्र्यो । उनी उठेर नआइञ्जेल देशमा अपर्झट परेको खण्डमा त्यसको नेतृत्व कसले गर्ने भन्ने दुविधा हुनसक्छ ।
देशको नेतृत्वकर्ता कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी सोमबार काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका उनको मिर्गौला प्रत्यारोपण आज बुधबार बिहान गर्ने भनिएको छ । स्वास्थ्योपचारको बाध्यतावश उनी अस्पताल बन्नुपरेको छ । यतिबेला देशको सक्रिय नेतृत्व कसको हातमा छ भन्ने एकिन छैन । हुन त सरकार प्रमुख उनै हुन् । तर, बिमार परेको बेला आफू अस्पताल हुँदा सक्रिय नेतृत्व अरुलाई सुम्पनुपर्नेमा उनले त्यसो गरेनन् ।
नेपालको कानूनअनुसार सरकार प्रमुख स्वदेशमै भएको बेला नेतृत्व मातहतमा हस्तान्तरण गर्नुपर्ने बाध्यता छैन । विदेश जाँदा भने उपप्रधानमन्त्रीलाई कार्यवाहक तोक्ने गरिएको छ । अहिले उनी देश छोडेर गएका त होइनन् । तर, सक्रिय पनि छैनन् । यस्तो बेलामा देशको नेतृत्व अस्थायीरुपमा हस्तान्तरण गर्नुपथ्र्यो । उनी उठेर नआइञ्जेल देशमा अपर्झट परेको खण्डमा त्यसको नेतृत्व कसले गर्ने भन्ने दुविधा हुनसक्छ ।
प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि जारी गरेको भिडियो सन्देशमा सरकार सञ्चालनका लागि सबै व्यवस्था गरेकोे बताएका थिए । उनले आफ्नो अनुपस्थितिमा कुनै समस्या नपर्ने बताएका थिए । तर, उनी अस्पताल भर्ना भएको दोस्रो दिनसम्म पनि उनको जिम्मेवारी हस्तान्तरण गरेको थाहा पाइएन । कानूनी बाध्यता नभए पनि यो व्यवहारिक बाध्यताको कुरा थियो । उनले आफू अस्वस्थ भएको बहानामा देशलाई नेतृत्वविहीन छाड्न हुन्थेन ।
देशमा कोरोना भाइरसले जुनसुकै बेला महामारीको रुप लिन सक्ने अवस्था छ । उतिन्खेरै जटिल निर्णयहरु लिनुपर्ने हुनसक्छ । भरखरै भाइरस फैलिएर बहुसंख्यक जनतालाई असर गर्नसक्छ । त्यसकारण पनि सरकार अति सक्रिय हुनुपर्ने बेला हो यो । तर, यहीबेला प्रधानमन्त्री आफैंलाई उपचार गर्नुपर्ने अवस्था आयो । कसैको स्वास्थ्य समस्या कतिखेर आउँछ, त्यो भन्न सकिँदैन । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आयो, यसमा केही भन्ने अवस्था त आएन । तर, लामो समयदेखि उपचारमै रहेका प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणजस्तो जटिल उपचार गर्ने क्रममा नेतृत्व आफूसँगै राखिरहन हुँदैन थियो ।
हाम्रोजस्तो प्रणालीमा सेरेमोनियल राष्ट्र प्रमुखले देशमा केही भयो भने हेरेर मात्रै बस्नुपर्छ, प्रधानमन्त्रीविना उसले अगाडि बढ्नै पाउँदैन । त्यसरी अगाडि बढ्न खोज्दा राष्ट्रप्रमुखलाई त्यस्तो बेलामा महाभियोग लाग्न सक्छ । एकदमै निष्ठावान, देशप्रेमी राष्ट्रपति भए पनि केही गर्न सक्दैन । यो कुरो बुझ्ने, जान्ने कसले ? सत्ता भनेको व्यक्ति होइन । संस्था हो । सिंगो राष्ट्रको नेतृत्व हो । करोडौं जनताको अगुवा हो । जिम्मेवार हो । यो बुझेर प्रधानमन्त्रीले होसहवासमै म मेरो कार्यकारी अधिकार अरुलाई दिन्छु भन्नुपथ्र्यो । कानूनले यस विषयमा नबोल्नु पनि कमजोरी हो । आगामी दिनमा यस्तो व्यवस्था पनि कानूनीरुपमा गर्नुपर्छ भने सम्बन्धित पदमा रहेकाहरुले पनि बुझ्नुपर्छ ।