भरतपुर,३१ जेठ । राजनीतिक विचार वा आस्थाका आधारमा थुप्रै व्यक्तिलाई पक्राउ गरी झुटा मुद्धा लगाएर थुनामा राखिएको भन्दै जनअधिकार अभियान नेपालले ध्यानाकर्षण जनाएको छ । भरतपुरमा आयोजित ‘मानवअधिकारको दृष्टिकोणबाट वर्तमान राजनीतिक परिस्थिति र जनचाहना’ विषयक अन्तरक्रिया कायत्र्रmममा जनअधिकार अभियान नेपालले मानवअधिकार तथा मौलिक हकको गम्भीर उल्लंघन भएकोमा चिन्ता जनाएको छ ।
संस्थाका अध्यक्ष अधिवक्ता एकराज भण्डारीले झुटा तथा बनावटी तथ्य बनाएर सार्वजनिक अपराध र सजाय ऐनअन्तर्गत मुद्धा लगाउने कामको चर्को विरोध गरे । “राजनीतिक गतिविधि सञ्चालन गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो”, उनले भने, “बोल्नै नपाउने गरी ताल्चा लगाउन खोज्नु न्यायसंगत काम होइन ।” व्यक्तिगत स्वतन्त्रताको प्रत्याभूति गर्दै निजको विचार र अभिव्यक्ति राख्न पाउने अधिकार खोस्न नहुने धारणा व्यक्त गरे ।
“विना हातहतियार शान्तिपूर्वक भेला हुन, आवतजावत गर्ने काममा राजनीतिक आस्था राखेकै कारण रोक्ने काम राम्रो होइन”, उनले भने, “मौलिक अधिकार राज्यले नै खोस्नु ज्यादै निन्दनीय काम हो ।” निर्वाचनमा भाग लिने वा नलिने उसको व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै उनले शान्तिपूर्ण विरोध गर्ने अधिकारको संरक्षण गर्न उनले आग्रह गरे । “राजनीतिक आस्था राखेकै कारण पक्राउ गर्ने, मुद्धा लगाउने, यातान दिने कामले मानवअधिकारको उल्लंघन भएको छ”, उनले भने, “राज्यले यस्ता कदम रोक्नुपर्छ ।” राजनीतिक विषयवस्तुमा सम्बद्ध पक्षबाट वार्ता तथा राजनीतिक तवरबाट समाधान गर्नेतर्फ लाग्नुपर्ने सुझाव राखे ।
कार्यपत्र प्रस्तुत गर्दै उनले भने, “शान्तिप्रक्रियाको पाटो अझै अन्यौलपूर्ण छ, नागरिक क्रुद्ध बनेका छन् ।” पूर्ण लोकतान्त्रिक संविधान बनाउने क्रममानै विवादित ढंगले संविधान जारी गर्दा देशमा अन्यौलपूर्ण अवस्था आएको बताए । पूर्वजनमुक्ति सेना, जनयुद्धका घाइते, अपांग विस्थापित परिवारका पीडा हालसम्मै उस्तै रहेकाले राज्यले बेलैमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिने भनि सार्वजनिक गरेकै कारण सो पार्टीका नेता कार्यकर्ता जहाँ देखेपनि पक्राउ गर्ने कार्य मानवअधिकारविपरीतको कदम भएको बताए ।
अन्तर्राष्ट्रिय कानून एवं मर्यादाअनुसार कूटनीतिक पहल गर्न नसकेको उनको भनाइ छ । “दिनदहाडै नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले मारेका छन्”, उनले भने, “नेपाली नागरिक पक्राउ परेका छन्, सरकारले निरिहता देखाएको छ ।” संविधान घोषणा भएको दुई वर्ष पूरा नहुँदै चारपटक सरकार परिवर्तन भइसकको छ । “अस्थिर राजनीतिले मानवअधिकार उल्लंघनका घटना बढेका छन्”, उनले भने, “सरोकारवालाले खबरदारी गर्नेबेला आएको छ ।” राजनीतिक दलको संरक्षणका कारण अपराधीलाई कानूनी कठघरामा ल्याउनसमेत कठिन हुने गरेको उनले बताए ।
उनले राजनीतिक आस्थाकै आधारमा कुनैपनि व्यक्तिलाई नियन्त्रणमा लिने वा यातना दिने काम बन्द गनुपर्ने बताए । राज्यसत्ताको दुरुपयोग गर्दा मानवअधिकारमाथि ठाडो प्रहार भएको उनको भनाइ छ । सासंद् कृष्णभक्त पोखरेलले नेपालको संविधान उत्कृष्ट रहेको भन्दै संविधान कार्यन्वयनतर्फ लाग्नुपर्नेमा जोड दिए । आस्थाका आधरमा कसैलाईपनि बन्दी बनाउन नपाइने उनको भनाइ छ । त्यस्तै पूर्वसांसद् अधिवक्ता जग्गनाथ पौडेलले मानवअधिकार उल्लंघनका घटना बढ्दा प्राप्त उपलब्धलाई समेत कमजोर बनाउने तर्क गरे ।
अदालतसमेत राजनीतिक प्रभावमा पर्दा थप समस्या आएको उनको भनाइ छ । माओवादी केन्द्रका नेता सूर्य सुवेदी ‘पथिक’ ले पछिल्लो समय नेपालमा माओवादी आन्दोलन बरालिएको भन्दै माओवादी आन्दोलनको समिक्षा गर्नुपर्ने बताए । आस्थाका आधारमा कसैलाईपनी बन्दी बनाउन नपाइने उनले जिकिर गरे । कार्यक्रममा राप्रपा चितवनका अध्यक्ष बद्री तिमिल्सेना, नेपाल कम्युनिष्ट पार्टीका लालबहादुर तामांग, नेपाल क्रान्तिकारी माओवादीका अशोक शर्मा, नेपाल बार एशोसियसनका केन्द्रीय सदस्य इन्दु कोइराला, वार एशोसियसन चितवनका उपाध्यक्ष लक्ष्मीप्रसाद पाठक, मानव अधिकारकर्मी राजेन्द्र पौडेल,महेश न्यौपाने लगायतले मानवअधिकार उल्लंघन बढेकोमा चिन्ता व्यक्त गरे ।
राजनीतिक अस्थिरताले मानवअधिकार उल्लंघन
राजनीतिक अस्थिरताले मानवअधिकार उल्लंघन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस