रत्ननगर । वन्यजन्तु संरक्षणमा युवाहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिएको छ । समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान दिवसको अवसरमा मंगलबार चितवनको सौराहामा आयोजित अन्तरक्रिया कार्यक्रममा वन्यजन्तु संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको औंल्याइयो ।
वन्यजन्तु संरक्षणमा युवालाई अझ बढी जिम्मेवार बनाउनुपर्नेमा समेत जोड दिइयो । रत्ननगरका मेयर नारायण वनले वन्यजन्तु चोरी शिकार नियन्त्रणमा युवामा देखिएको सक्रियता प्रति प्रशंसा गरे । “कुनै समय चोरी शिकारीका कारण अत्यधिक गैंडा मारिन्थ्यो”, मेयर वनले भने, “निकुञ्जसँग युवाहरुले गरेका गतिविधिका कारण शून्य चोरी शिकार वर्षसमेत मनाउन पाइयो ।” वन्जन्तु संरक्षणका लागि निकुञ्ज, युवाहरुसँग नगरपालिका हातेमालो गरेर अगाडी बढ्ने मेयर वनले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले समुदायमा आधारिक चोरी शिकार नियन्त्रण युवा जागरण अभियानमार्फत वन्यजन्तु संरक्षणमा ठूलो सफलता मिलेको भन्दै पुस्ता हस्तान्तरण गर्दै अझ बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताए । वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि सन् २००४ मा समुदायमा आधारिक चोरी शिकार नियन्त्रण युवा जागरण अभियान गठन भएको थियो । सोहीबेलादेखि चितवन निकुञ्जसँग मिलेर युवा जागरण अभियानले वन्यजन्तु संरक्षणका लागि सचेतनामूलक कार्यक्रम, नेपाल आर्मीसँग गस्ती, कानूनी सचेतना, घाइते वन्यजन्तुको उद्दार तथा उपचार, शंकास्पद घटनाको सूचना प्रवाहलगायतमा सहयोग गर्दै आएको युवा जागरण अभियानका अध्यक्ष डोमा पौडेलले बताइन् ।
चितवन निकुञ्जमा एकै वर्षमा ४० वटाभन्दा बढी गैंडा चोरी शिकारबाट मारिएको तथ्यांक छ । अन्तरक्रिया कार्यक्रममा युवा जागरण अभियान अध्यक्ष पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रामकुमार अर्याल, चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख गोपाल घिमिरेले वन्यजन्तु संरक्षण, निकुञ्जले आगामी दिनमा गर्ने कार्यहरु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । चितवन राष्ट्रिय निकुञ्ज,समुदायमा आधारिक चोरी शिकार नियन्त्रण युवा जागरण अभियान, रत्ननगर नगरपालिकाको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा कार्यक्रम भएको थियो ।